उपकुलपतिको राजीनामा दुई सातापछि स्वीकृत, तोकिएन निमित्त
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा बिहीबार स्वीकृत गरेका छन् । बरालले १५ चैतमै राजीनामा दिएको भए पनि सनाखत (उनकै भए/नभएको यकिन) गर्नुपर्ने भन्दै रोकेर राखिएको थियो । दुई सातापछि राजीनामा स्वीकृत गरिए पनि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छैन । प्रधानमन्त्री एवं कुलपति ओलीको असहयोग र हस्तक्षेप रहेको भन्दै बरालले पदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री नियुक्त भएदेखि नै ओलीले असहयोग गरेको र पछिल्लो समय विश्वविद्यालयको स्वायत्ततामा समेत हस्तक्षेप गरेको उनको आरोप छ । विश्वविद्यालयको सुधारको काम गर्न खोज्दा सत्तारूढ एमालेलगायतका राजनीतिक दलबाट असहयोग भएको बरालले बताए । उनी गत वर्ष १० फागुनमा प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त भएका थिए । त्यति बेला कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल थिए ।
बरालले उपकुलपतिबाट राजीनामा दिएपछि नै त्रिविमा दैनिक प्रशासनिक काम ठप्प छ । त्रिवि ऐनमा उपकुलपति अनुपस्थिति रहे ३ महिनाका लागि रेक्टरले निमित्तको जिम्मेवारी लिन सक्ने व्यवस्था छ । त्यहीअनुसार त्रिविमा रेक्टरले निमित्त चलाउने अभ्यास छ । यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि रेक्टर शिवलाल भुसाल र तीर्थ खनियाँको कार्यकाल सकिँदा रेक्टर सुधा त्रिपाठीले निमित्तको जिम्मेवारी पाएका थिए ।
ऐनमा कुलपतिले बढीमा ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी वरिष्ठतम प्राध्यापकलाई दिन सक्ने व्यवस्था पनि छ । रेक्टरलाई अहिले निमित्त नतोकिएकाले कुलपति ओलीले कोहीलाई जिम्मेवारी दिन खोजेको प्राध्यापकहरूको अनुमान छ ।
निमित्त नतोकिए विश्वविद्यालयको दैनिक प्रशासनिक काम झनै अनिश्चित बन्ने प्राध्यापकहरू बताउँछन् । उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री तथा सहकुलपतिको संयोजकत्वमा सिफारिस समिति गठन हुने प्रावधान छ । समिति गठन, उपकुलपति सिफारिस र नियुक्तिका लागि केही साता लाग्नेछ ।
बरालको राजीनामापछि रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजालमाथि पनि राजीनामा दिनुपर्ने दबाब बढेको छ । एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीले उनीहरूको राजीनामा माग गरिरहेका छन् । बरालले आफ्नो टिम आफैं बनाउने भन्दै रेक्टर र रजिस्ट्रार नियुक्त गरेकाले उनीहरू दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अनेरास्ववियुका नेताहरूको भनाइ छ । अनेरास्ववियु त्रिवि कमिटीका इन्चार्ज प्रशान्त भण्डारी र पूर्वइन्चार्ज मदन विष्टले रेक्टर र रजिस्ट्रारको असहयोगका कारण बरालले उपकुलपतिबाट राजीनामा दिएको आरोप लगाए ।
अखिल क्रान्तिकारीका त्रिवि कमिटीका अध्यक्ष दिनेश ऐर र पूर्वइन्चार्ज लोकेन्द्र ऐरीले पनि पदाधिकारीको राजीनामा माग गरेका हुन् । ऐरी समूहले रजिस्ट्रार रिजाललाई भेटेर राजीनामा दिन र कार्यालय नआउन दबाब दिएको छ । अनेरास्ववियु र क्रान्तिकारीका विद्यार्थीले संयुक्त रूपमै राजीनामा माग गरेको ऐरीको भनाइ छ । विद्यार्थीको एक समूहले २२ फागुनमा तोडफोड गरेपछि रेक्टर केसी कार्यकक्ष प्रवेश गरेका छैनन् । उनले कार्यकक्ष बाहिरबाटै काम गर्दै आएको सचिवालयले जनाएको छ ।
