कैलाली — एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राजा फर्काउने कुरा बनेका सडक भत्काएर ग्राभेल गर्नु जस्तै हुने बताएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा आज धनगढीमा भएको जनसभामा उपाध्यक्ष ज्ञवालीले गणतन्त्र उल्ट्याउने सपना देख्नेहरूलाई जनता आफैंले उत्तर दिने चेतावनी दिएका हुन् ।
कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र पछिल्लो गतिविधिप्रति आपत्ति जनाउँदै गणतन्त्र विरोधी क्रियाकलापविरुद्ध पार्टी जागरुक भएको बताए। उनले लोकतन्त्रले नेपाली जनतालाई प्रतिव्यक्ति आय, स्वास्थ्य, शिक्षा, विद्युत् पहुँच र महिला शिक्षामा उल्लेखनीय सुधार भएको बताए ।
प्रदेश इन्चार्ज लेखराज भट्टले गणतन्त्र ल्याउन हजारौंको बलिदान भएको स्मरण गराउँदै पुनः राजावादी शक्तिहरू सक्रिय भइरहेको भन्दै खबरदारी गरे। 'राजालाई फालेर ल्याइएको गणतन्त्रलाई पछाडि फर्कन दिनु हुँदैन,' उनले भने ।
