तीनकुने घटनाबारे गृहमन्त्रीले भने : आपराधिक र विध्वंसकारी कार्य

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

The Home Minister said about the three incidents: criminal and subversive acts

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते काठमाडौंमा भएको घटना अपराधिक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले यस्तो बताएका हुन् ।

तीनकुने भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आइन्दा यस्ता घटना हुन नदिन चनाखो रहेको समेत बताए । उनले तीनकुने घटना आपराधिक र विध्वंशकारी घटना भएकोले फौजदारी कानुनी प्रक्रियाबाट नै छानबिन हुने जिकिर गरे । सांसदहरुले घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्न माग गरेका थिए ।

गृहमन्त्री लेखकले सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले घटनाबारे कुनै आग्रह र पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्ने बताए । सार्वजनिक सम्पत्ति लुटपाट, आगजनी र आरजकता गर्ने कार्यमा संलग्नहरुलाई पक्राउ गर्ने कार्य अझै नरोकिएको समेत उनको भनाइ छ । तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं प्रक्राउ परेको समेत उनले समितिलाई जानकारी दिए ।

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजी गर्नु कुनैपनि हिसाबले उचित नहुने बताए । उनले जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको समेत उल्लेख गरे । उनले भने, ‘लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरंकुशताको खोजीलाई हामीले जुनसुकै भाषा, जुनसुकै शब्दले पनि अगाडि बढाउने कुरा उचित हुन्छ भन्ने मलाई लाग्दैन । जनतामा जाउँ आफ्नो कुरा राखौं । हामी त पाँच पाँच वर्षमा जनतामा गइराखेका छौं । हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ । जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।’

उनले तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने काम अघि बढिसकेको बताए । घटना घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने उनको भनाइ छ । बैठकमा सांसदहरुले तीनकुने घट्नाको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाहलाई बनाउनु पर्ने धारणा राखेका छन् ।

कान्तिपुर

Link copied successfully