काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
वनस्पति विभागको ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक स्रोत, भू–बनावटले आफ्नै पहिचान बनाएको बताए।
मन्त्री ठकुरीले नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्नसके देशको समृद्धिका लागि महत्त्वपूर्ण साबित हुने बताए ।
'नेपाल विभिन्न प्रजातिहरू, हाम्रो यो अत्यन्तै राम्रो हावा, प्राकृतिक स्रोत, भू–बनावट, नेपालको आफ्नै किसिमको पहिचान, भू–बनावट, नेपाल अनेक प्रजातिका फूलहरू, वनस्पतिको देश हो,' उनले भने, 'आफ्नो देशमा मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा पनि अनुसन्धानका माध्यमबाट र आफ्ना खोज र अनुसन्धानका माध्यमबाट चिनाउन सफल भएको छ । आगामी दिनमा पनि वनस्पति विभागले वनस्पतिसँग सम्बन्धित भएका धेरै कुरा अगाडि ल्याउन सफल हुनेछ ।'
मन्त्री शाहीले नेपालमा ३ सयभन्दा बढी वनस्पति स्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताएका छन् ।
