चितवन निकुञ्जको सैनिक पोस्टमा गोली लागेर सिपाहीको मृत्यु

चैत्र २९, २०८१

रमेशकुमार पौडेल

A soldier died after being shot at a military post in Chitwan Park

चितवन — चितवन राष्ट्रिय निकुञ्जको सैनिक सुरक्षा पोस्टमा शुक्ररबार बिहान गोली लागेका नेपाली सेनाका एक जना सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनावश गोली चलेको निकुञ्ज र सैनिक अधिकारीले जनाएका छन् । घटना बिहान ९ बजेतिर भएको थियो ।

तिघ्रामा गोली लागेका सिपाही चन्द्रकिशोर दास थारूको उपचारका क्रममा दिउँसो चार बजेतिर चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

निकुञ्जको भरतपुर महानगरपालिका-१८ सेतिदेवी सामुदायिक वनमा रहेको नेपाली सेनामा नयाँ गाोख गणको पोस्टमा उक्त घटना भएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बताए ।

नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले  गस्ती गएर फर्केपछि हतियार राख्ने क्रममा दुर्घटना भएको बताए । 'गस्तीपछि लोडिङ गनको गोली म्यागजिन झिक्ने बेलामा दुर्घटना भएको हो,' सूचना अधिकारी केसीले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully