काठमाडौँ — लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत वैशाख ५ गते भैरहवा आउने भएका छन् ।
काठमाडौंमा रहेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार भियतनाम एयरलायन्सको विमानबाट १ सय ८० पर्यटक सिधै भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । ‘भियतनामबाट पहिलोपटक सिधा चार्टर उडान गर्दै छौं,’ पराजुलीले भने, ‘यो उडान भियतनाम र नेपालबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका लागि आयोजना हुन लागेको हो ।’
भैरहवामा अवतरण हुने पर्यटक शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन् । उनीहरू वैशाख ६ गते लुम्बिनीबाट सडकमार्ग हुँदै भारतको वाराणसी जानेछन् । उनीहरूलाई ल्याउने चार्टर विमान भने भैरहवाबाट खाली नै भियतनाम फर्किनेछ ।
दोस्रो चरणमा रुप्से होलिडेजले भियतनामबाट काठमाडौंका लागि दुइटा चार्टर उडान गर्दै छ । ती उडान जेठ २ र १२ गते हुनेछन् । रुप्सेले यसअघि भियतनाम–काठमाडौंमा थुप्रै पर्यटकीय चार्टर उडान गरिसकेको छ ।
