निःशुल्क उपचारको दिए ‘ग्यारेन्टी’
काठमाडौँ — राजावादीले १५ चैतमा तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई दुई सातापछि गृहमन्त्री रमेश लेखक अस्पताल पुगेर भेटेका छन् । गोली र छर्रा लागेर २० जना घाइते भएकामा बुधबारसम्म ५ जना उपचाररत छन् ।
घाइतेसँगको भेटमा मन्त्री लेखकले उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका छन् । ‘जो जति घाइते भएर अस्पताल आउनुभयो, उहाँहरूको उपचार निःशुल्क गर्ने निर्णय सरकारले गरिसकेको छ,’ उनले भने ।
‘घाइतेले निःशुल्क उपचार पाए कि पाएनन् भन्ने हेर्न आएको हुँ, हामीले गरेको निर्णय कार्यान्वयन हुन्छ, अहिले अस्पतालमा नपाएको औषधि बाहिरबाट पैसा तिरेर किनेको कुरा पनि आएको छ,’ मन्त्री लेखकले भने, ‘तत्काल आफूले खर्च गरे पनि त्यो खर्च गरेको बिल अस्पतालमार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ । त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।’
मन्त्री लेखकका अनुसार उपचार गरेर डिस्चार्ज भएकाहरूले पनि खर्च गरेको बिल सम्बन्धित अस्पतालमार्फत प्रमाणित भएर पेस गरेमा सरकारमार्फत पैसा पाइनेछ । ‘घाइतेका परिवारले खर्च गरेको भए पनि अस्पतालले बिल भौचर प्रमाणित गरेर पठाएको अवस्थामा भुक्तानी दिइनेछ,’ उनले भने ।
तर गृहमन्त्री लेखकले भनेझैं बिरामीले सहज रूपमा उपचार पाएका छैनन् । काठमाडौं मेडिकल कलेजमै उपचार खर्च तिर्न नसकेपछि स्याङ्जाका सुमन गुरुङ अस्पतालबाट भागेका थिए । उनलाई १५ चैतकै प्रदर्शनमा गाला र कानमा रबरको गोलीको छर्रा लागेको थियो । उनी चौथो दिन अस्पतालबाट भागेका हुन् । घाइतेमध्ये धेरै अस्पतालमा पैसा तिरेर डिस्चार्ज भएका छन् ।
हातमा गोलीको छर्रा लागेका दोलखाका रामचन्द्र बुढाथोकी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा, पाखुरामा गोली लागेका काभ्रेका रामहरि (रिदम) श्रेष्ठ बीएन्डबी अस्पतालमा, तिघ्रामा गोली लागेकी उदयपुरकी रेविका खत्री अहिले सिभिल अस्पतालमा उपचाररत छन् । यस्तै, पेटमा गोली लागेका भोजपुरका डिल्लीप्रसाद लुइँटेल र कुहिनामा गोली लागेका शम्भु दर्जीको ट्रमा अस्पतालमा उपचार हुँदै छ ।
उनीहरूको एउटै समस्या छ, तत्काल खर्च गर्ने पैसासमेत साथमा छैन । घाइतेका परिवारले सरकारबाट अहिलेसम्म कुनै पनि सहयोग नपाएको गुनासो सुनाएका थिए । घाइते र घाइतेका आफन्तले आफ्नो भष्वियका बारेमा समेत सरकारले सोच्नुपर्ने बताएका थिए । जवाफमा गृहमन्त्री लेखकले पहल गर्ने बताएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै समस्या भए मन्त्रालयको टोल फ्रि नम्बरमा सम्पर्क गरेर सहयोग लिन सक्ने विज्ञप्ति जारी गरेको थियो । बाहिरबाट औषधि किन्न सक्ने आर्थिक अवस्था नभए परिवारले सामाजिक सुरक्षा इकाइमा विपन्नको निवेदन दिएर सहयोग लिन सक्ने भने पनि बिरामीहरूले उक्त सेवा प्रयोग गर्न सकेका छैनन् । मन्त्रालयका अनुसार प्रदर्शनका क्रममा १ सय २९ जना घाइते भएकामा १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । कति जनाले के–के उपचार गराए, कति खर्च हुँदै छ भन्ने आधिकारिक विवरण मन्त्रालयसँग छैन । तीनकुने घटनामा दुई जनाको ज्यान गएको थियो ।
