नवलपरासी — दाउन्नेमा हिलोले सवारी आवागमनमा समस्या निम्तिएको छ । राजमार्ग निर्माण गर्ने ठेकेदारले बिहानै धुलाम्य राजमार्गमा पानी हाल्नुका साथै बिहानदेखिको झरीका कारण गाडी चिप्लिन थालेपछि सवारी आवागमनमा समस्या भएको हो ।
जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार धुलाम्य राजमार्गमा पानी हालेकै अवस्थामा गाडी चिप्लिन थालेका थिए । त्यसमा अझ बिहानदेखि झरी परेका कारण राजमार्गको बाक्लो धुलो हिलोमा परिणत भएछि राजमार्गमा चिप्लिएर गाडी हिँड्नै नसक्ने अवस्था भएको हो ।
पश्चिमबाट पूर्वतर्फ जाने गाडी बर्दघाट, सुनवल क्षेत्रमा रोकिएको र काठमाडौं, पोखरा र विरगन्जबाट पश्चिम तर्फ जाने गाडी गैंडाकोट, रजहर, कावासोती, चोरमारा र अरुणखोलमा रोकेको ढकालले जानकारी दिए ।
बिहीबार बिहानदेखि पूर्वी नवलपरासीमा सामान्य भरी परेको छ । राजमार्ग फराकिलो पार्न दाउन्नेमा सडक भत्काएर छोडेका कारण २, ३ फिटसम्मै बाक्लो धुलो छ ।
दाउन्ने सडक मर्मतका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म राजमार्ग अवरुद्ध गर्ने गरिएको थियो । चैत ३१ गते सम्म हरेक दिन दिनको ४ घण्टा राजमार्गमा यातयात रोकेर काम थालिएको छ ।
![Mudslide disrupts traffic in Downe [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/img-20250410-wa0012-1042025061217-1000x0.jpg&w=1001&h=0)