बारका नवनिर्वाचित अध्यक्ष मिश्र भन्छन् : न्यायपालिकामा रहेको विकृति हटाउँछौँ

चैत्र २८, २०८१

आरती पौडेल

Mishra, the newly elected chairman of the Bar, says: We will remove the corruption in the judiciary

काठमाडौँ — नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र विसंगति हटाउनका लागि लागिपर्ने बताएका छन् ।

आफ्नो कार्यकालमा बारले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने र त्यसका लागि बारको नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने मिश्रले प्रतिबद्धता जनाएका छन् । 

नेपाल बार एसोसिएसनका लागि भएको निर्वाचनको बिहीबार मतपरिणाम घोषणा भएको हो । जसअनुसार सत्तारुढ एमाले र कांग्रेस निकट कानुन व्यवसायीका संगठनहरूले गठबन्धन बनाएर मिश्रलाई अध्यक्षको उम्मेदवार बनाएका थिए । अध्यक्ष उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरेका थिए । श्रेष्ठ माओवादी केन्द्र र रास्वपाका कानुन व्यवसायी संगठनले गठबन्धन बनाएका थिए ।

नेपाल बारका सातवटा उपाध्यक्षमा मिश्र प्यानलकै उम्मेदवार विजयी बनेका छन् । कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा उपाध्यक्षमा निर्वाचित भए । महासचिवमा मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित हुँदा कोषाध्यक्षमा पनि मिश्र प्यानलकै वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की निर्वाचित भए ।

अध्यक्षमा निर्वाचित मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताएका छन् । 'नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ,’ उनले भने, 'संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार हाम्रो योजना रहेको छ । न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौं । न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ ।'

कानुन व्यवसायी र युवा कानुन व्यवसायीको हक र हितको उत्थान गर्न बारको नवनिर्वाचित कार्यसमिति एकताबद्ध भएर अगाडि बढ्ने मिश्रले बताए । 'लयर्स एकेडेमीमार्फत कानुन व्यवसायीहरूलाई विभिन्न प्रकारको तालिम प्रबन्ध मिलाउने छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बारको सम्बन्ध विकास गर्ने छौँ । बारमा पारदर्शीता ल्याउने छौँ र कानुन व्यवसायीलाई आचारसंहिताको पालनामा जोड दिइनेछ ।'

सर्वोच्चका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीले दिएको न्यायालय सुधारका लागि तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लाग्ने पनि बारका नवनिर्वाचित अध्यक्ष मिश्रले प्रतिबद्धता जनाएका छन् ।

न्यायलाई सबैको पहुँचमा पुर्‍याउनका लागि बारको तर्फबाट भूमिका खेल्ने बताउँदै मिश्रले कानुनी शिक्षालाई आधुनिक बनाउन पहल गर्ने जनाए । 

बारको सदस्यमा पनि मिश्र प्यानलका उम्मेदवार नै विजयी भएका छन् । दलित सदस्य चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली विजयी भए ।

आरती पौडेल

Link copied successfully