खराब मौसमका कारण ढोरपाटन आएका सिकारी ब्लकमै रोकिए

चैत्र २८, २०८१

प्रकाश बराल

Hunters who came to Dhorpatan stopped at the block due to bad weather

बागलुङ — खराब मौसमका कारण हेलिकोप्टर नउड्दा ढोरपाटनमा सिकार खेल्न आएका सिकारी सातादेखि रोकिएका छन् । ढोरपाटनको सेङ र धुस्तुङमा २ सिकारी सातादेखि रोकिएका हुन् भने भने अन्य ७ जना सिकारी पनि ब्लकमै छन् ।ढोरपाटनको आरक्ष कार्यालयदेखि ती ब्लकहरु ३ देखि ५ दिनको पैदल यात्रामा पर्छन् ।

सिकारीहरू हेलिकोप्टरमा तोकिएको ब्लकमा पुगेपछि दुई देखि तीन सातासम्म बसेर सिकार गर्छन् । सेङ ब्लकमा काम सकेका एक अमेरिकी र एक जना स्पेनिस सिकारी फर्कन नपाएको हिमालयन वाईल्डलाइफ आउटफिटरर्स् प्रालिका सञ्चालक दिपक थापाले बताए ।

उनीहरुले चैत २१ गते नै सेङ ब्लकमा काम सकेका थिए । सेङबाट धुस्तुङ ब्लकमा ३ दिन हिँडेर आइपुगेपछि भने उनीहरू रोकिएका हुन् । पैदलै हिँडेर ढोरपाटन आइपुग्ने बाटो अप्ठ्यारो भएकोले उनीहरू क्याम्प बनाएर बसिरहेका हुन् । ‘हामीले हेलिकोप्टर बोलाएको चार दिन भैसक्यो, मौसम खराब छ भनेर आएको छैन’ थापाले भने, ‘धेरै दिन बस्नु पर्‍यो भने गाह्रो हुन्छ ।’

भिजिबिलिटी नभएकोले देशका धेरै उडान बन्द भएका छन् । यहाँ पनि सोही कारणले हेलिकोप्टर नउडेको हुन सक्ने आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बताए । हेलिकोप्टर ल्याउने काम सम्बन्धित कम्पनीले गर्ने भएकोले एकिन थाहा नपाएको उनले जानकारी दिए ।

ढोरपाटनका ब्लकमा समेत बेलाबेला मौसम खराब हुने गर्छ । वर्षात भयो भने हिमपात हुन सक्ने समेत भएकोले सिकारीलाई छिटो सुरक्षित स्थानमा पठाउन खोज्दा ढिला भएको थापाले गुनासो गरे । ‘एक जनाको त बिहीबारको फर्कने टिकट थियो, अब रद्द गर्नुको विकल्प भएन,’ उनले भने, ‘तोकिएको समय तालिकामा हिँडेका सिकारीहरू नमज्जा मानिरहेका छन् ।’

सिकार आरक्षका रेन्जर सागर सुवेदीका अनुसार चालु वर्षको दोस्रो सिजनमा आएका १४ जना सिकारीमध्ये अहिले सम्म ५ जना मात्रै फर्केका छन् । २ जना धुस्तुङमा अलपत्र परेको जानकारी पाएपनि अन्य ७ जनाले अझै खबर नगरेको उनले बताए ।

चालु वर्षको दोस्रो सिजनको रूपमा चैत महिनामा १३ नाउर, १० झारल र १२ बँदेलसहित ३५ जनावरका लागि सिकारीले टेन्डर पारेका थिए । टेन्डर पारेकामध्ये १ जना सिकारी नआएपछि १४ जनाको मात्रै इन्ट्री भएको सुवेदीले जानकारी दिए । सबै जना फर्केपछि मात्र विस्तृत विवरण आइपुग्ने भन्दै उनले प्रारम्भिक जानकारी मात्र पाएको बताए ।

७ वटा ब्लक रहेको ढोरपाटनमा नाउर र झारलका लागि ग्लोबल टेन्डरमार्फत सिकार खुलाइन्छ । गत माघ १५ गते खुलेको बोलपत्रमा ती सिकारीले तोकिएको राजश्व तिरेर सिकारका लागि आएका थिए । यो वर्ष नाउरका लागि ८ लाख र झारलका लागि ६ लाख रुपैयाँमा टेन्डर परेको थियो ।

सिकारका लागि हिमालयन वाइल्डलाइफ आउटफिटर्स्‌सहित हिमालयन सफारिज, ग्लोबल सफारिज, ट्रयाक्स एण्ड ट्रेल्स, नेपाल ट्राभल एक्सपिडिसन, ओपन नेपाल वाइल्डलाइफ सपारिज गरी ६ कम्पनीले अनुमति पाएका थिए ।

यो पटक सबैभन्दा वृद्ध स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टा पनि सिकारका लागि आएका छन् । आरक्षका अनुसार दोस्रो सिजनका लागि १ करोड २६ लाख राजश्व संकलन भएको छ । पहिलो सिजनको रूपमा असोज कात्तिकमा सिकार खुल्छ भने दोस्रो सिजनको रूपमा फागुन चैतमा खुल्ने गरेको हो ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully