दाउन्ने सडक खण्ड बन्द हुँदा यी हुन् वैकल्पिक मार्ग

चैत्र २७, २०८१

नवीन पौडेल

These are alternate routes when the southbound road section is closed

परासी — विस्तारको क्रममा रहेको बुटवल–नारायणगढ सडक खण्डको दाउन्नेमा सवारी आवागमन बन्द गरेर मर्मत गरिने भएपछि यात्रुले वैकल्पिक मार्गको खोजी गरिरहेका छन् । छोटो र सहजरूपमा दाउन्ने खण्ड पार गर्नका लागि साना सवारीलाई भुताहा, संसारकोट, पटुके, डाँडाँजोर हुँदै दुम्कीबास निस्कन सहज मानिन्छ तर मालबाहक सवारीले भने लामो दुरीका रुट प्रयोग गर्नुपर्ने हुन्छ ।

दाउन्ने खण्ड भएर आवतजावत गर्ने साना सवारी र यात्रुले वैकल्पिक मार्गको रुपमा बुटवलबाट नारायणगढतर्फ जानु परेमा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भुताहादेखि उत्तरतर्फ लागेर संसारकोट, पटुके हुँदै पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाको डाँडाँजोर हुँदै दुम्किबास निस्कन सक्ने छन् । 

१५ किलोमिटर लामो यो सडक ४ किलोमिटर कालोपत्रे छ बाँकी कच्ची र साँघुरो भएकाले फोर हिृवलरका लागि सहज हुने छ । ठूला र भारी सवारी साधनलाई यो खण्ड उपयुक्त मानिदैन । लुम्बिनी प्रदेश सरकारले दाउन्नेको वैकल्पिक मार्गको रुपमा काम अगाडि बढाएको भए पनि पर्याप्त बजेट नहुँदा सडक चौडा बनाउने काम ढिलो भएको छ । तदारुपताको साथमा यो खण्डमा काम भएको भए अहिले दाउन्ने खण्डमा सवारी रोकेर काम गर्नुपर्ने अवस्था आउने थिएन । 

सडक विभाग र ट्राफिक प्रहरीले भने यो सडक खण्ड भएर सवारी सञ्चालन गर्न औपचारिक रूपमा सुझाव दिँदैनन् । वैकल्पिक मार्गको प्रयोग गर्दा सवारी धनीले  रुट परमिट भने अनिवार्य रूपमा लिनुपर्ने हुन्छ । सडक विभागले नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालिगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल जानुपर्ने हुन्छ । यो खण्डमा मिनी बस र बस सञ्चालन गर्न सकिने छ । ठूला सवारी र मालबहाक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्कनुपर्ने हुन्छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक जनक बन्जराले सडक विभागले तोकेको रुटमा मात्र वैकल्पिक मार्गको प्रयोग गर्न सुझाव दिएका छन् । सडक बन्द भएको समयमा पश्चिम नवलपरासीको ज्यामिरे र हकुही सडक खण्डमा सवारी रोकिने छ भने पूर्वी खण्डमा ठूला र भारी सवारीलाई अरुणखोला, चोरमारा र यात्रु बाहक बस र साना सवारीलाई दुम्किबास क्षेत्रमा रोकिने छ । 

दैनिक घन्टौं सवारी जाम हुने र धुलोले अगाडिको सवारी पनि नदेखिने अवस्था आएपछि सडक विभागले पूर्व पश्चिम राजमार्ग अर्न्तगत दाउन्ने खण्डमा बुधबारदेखि अत्यावश्क बाहेकका सवारी रोकेर मर्मत र विस्तारको काम थालेको हो । चैत २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र सवारी आवागमन बन्द गरिएको छ । २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिने छ । 

बुटवल–नारायणगढ सडक खण्ड विस्तारको क्रममा छ । विगत ६ वर्षदेखि १ सय १४ किलोमटिर सडक विस्तारको काम भइरहेको भएपनि सम्झौता अनुसार काम नहुँदा यस खण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती भोगिरहेका छन् । अन्य क्षेत्रमाभन्दा दाउन्ने खण्डको १४ किलोमिटरमा धुलो, खाडल र घन्टौं सम्मको जामले यात्रु आजित भएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully