संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहर बनेपछि एयर प्युरिफायरको बिक्री पनि बढेको छ ।
काठमाडौँ — वायु प्रदूषण बढेसँगै धुलोका कण प्रशोधन गरेर हावा शुद्ध पार्ने एयर प्युरिफायरको बिक्री बढ्न थालेको छ । ललितपुरको झम्सीखेलस्थित क्लिन एयर स्टोरका कर्मचारी सलित महर्जनले पछिल्लो एक सातामा आफूले सय थान एयर प्युरिफायर बेचेको बताए ।
क्लिन एयर स्टोरमा पसलमा २२ हजारदेखि १ लाखसम्म पर्ने एयर प्युरिफायर छन् । सलितले आफूहरूकहाँ स्विडिस ब्रान्ड ब्लु एअरको ९६ हजार पर्नेसम्मको एअर प्युरिफायर रहेको बताए । क्लिन एयरकी कर्मचारी स्वेच्छा श्रेष्ठले कोठाभित्र हावा बहने ठाउँ नहुने भएकाले बाहिरको भन्दा ५ गुणा धेरैसम्म प्रदूषित वायु हुने बताउँदै प्युरिफायरले हावामा रहेको कणलाई प्रशोधन गरेर कोठाभित्रको हावा स्वच्छ पार्न सघाउने बताइन् ।
भक्तपुरस्थित श्रीराम इलोक्ट्रोनिक्सका सञ्चालक अशोक रानाले आफूकहाँ हरेक दिन एयर प्युरिफायरका बारेको सोध्न र किन्न आउने ग्राहक हुने गरेको अनुभव सुनाए । उनले पछिल्ला केही दिनयता हरेक दिन चार वटासम्म एअर प्युरिफायर बेचिरहेको बताए । दम, धुलोको एलर्जी भएका, बूढाबूढी र बालबालिका भएकाहरूले एअर प्युरिफायर किन्न खोजिरहेको बताउँदै उनले यसले दूषित हावालाई प्रशोधन गरेर स्वच्छ हावा फ्याँक्ने बताए ।
कौशलटारका वीरेन्द्र श्रेष्ठ बढदो वायु प्रदुषणका कारण आजित भएर श्रीराम इलोक्ट्रोनिक्समा एअर प्युरीफायरबारे बुझ्न आईपुगेका थिए । उनले दुषित हावालाई एअर प्युरिफायरले सफा गर्छ रे भन्ने सुनेकाले यसबारे बुझ्दै थिए । भने, ‘स्वच्छ हावाका लागि पनि पैसा तिर्नुपर्ने भयो ।’
निजामती कर्मचारी अस्पतालका छातीरोग विशेषज्ञ डा. बिदेश विष्ट एअर प्युरिफायरले तत्कालका निम्ति केही राहत दिने बताउँदै यो दीर्घकालीन समाधानको उपाय भने नभएको भए । उनले पछिल्लो समय विद्यमान वायु प्रदूषणका कारण एलर्जीको समस्या निम्त्याउने, कालो खकार पैदा हुने र फोक्सोमा एलर्जी भएकाले दमका रोगीहरूलाई थप असर गर्ने बताए ।
अभिषेक अधिकारी – (प्रशिक्षार्थी)
