सभापति लामिछाने पक्राउपछि पहिलोपटक रास्वपा सचिवालय बैठक बस्दै

उच्च अदालत तुलसीपुरले सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन लेखेको आदेशका सम्बन्धमा पनि छलफल हुने

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

RSVP secretariat meeting for the first time after the arrest of Chairman Lamichhane

काठमाडौँ — सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा पठाएपछि रास्वपाको पहिलो सचिवालय बैठक बुधबार बस्दैछ । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतको आदेश उल्टाएर उच्च अदालतले गत शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेशपछि लामिछाने शुक्रबार पक्राउ परेका थिए । रास्वपा सचिवालयको आकस्मिक बैठक सोही दिन बसे पनि एजेन्डासहित भने बुधबार ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसायमिक राजनीतिक र पार्टी गतिविधिका विषयमा छलफलसहित पाँचवटा एजेन्डा तय गरिएका छन् । लामिछानेको पक्राउबारे पार्टीको आधिकारीक धारणा तय गर्नुका साथै अधिवेशन कार्यक्रम र जनयात्रा सम्पन्न गर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । 

‘सचिवालयको अघिल्लो बैठकको समीक्षा गर्ने, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रमबारे पनि छलफलको कार्यसूची रहेको छ,’ झाले भने, ‘पार्टीको अधिवेशन सम्बन्ध पनि छलफल गर्ने कार्यक्रम रहेको छ । आगामी वैशाखमा अधिवेशन गर्ने मिति तय भएको थियो । त्यस्तै, जनयात्राको आगामी कार्यक्रम कहाँ गर्ने भन्नेबारे पनि छलफल हुनेछ ।’ रास्वपाले शनिबार चितवनबाट जनयात्रा कार्यक्रम सुरु गरेको थियो । उक्त यात्राअन्तर्गतको आगामी कार्यक्रम कहाँ गर्ने भन्ने विषयमा निर्णय हुनसक्ने झाको भनाइ छ ।

पार्टी कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकमा उच्च अदालतले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउन लेखेको आदेशका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । सभापति लामिछानेलाई पक्राउ गरिएको सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गरिने पनि कार्यवाहक प्रवक्ता झाले बताए । 

‘उच्च अदालतले सभापति लामिछानेको सम्बन्धमा कानुनी आधार परिवर्तन गरेको होइन, जिल्ला अदालतले बाहिर बस्न दिने भनेको थियो अहिले उच्च अदालतले पूर्पक्षका लागि पठाएको हो,’ झाले भने, ‘दोषी करार गरेको होइन । यसपटक जसरी पक्राउ गरियो । त्यसको प्रक्रियामा प्रश्न छ । म अदालतको सम्मान गर्छु, गिरफ्तारी दिन्छु भन्दा पनि आतंककारीलाई समात्न आएजस्तो भयो । पक्राउ पूर्जी छैन, त्यहाँ नै (लामिछानेको घरमा) आएर लेखियो ।’

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीका प्रदेश पदाधिकारी र केन्द्रीय सदस्यका सम्बन्धमासमेत छलफल गर्ने कार्यसूची छ । प्रदेश समितिहरूलाई प्रभावकारी बनाउनका लागि केन्द्रबाट जिम्मेवारी तोक्ने तयारीमा रास्वपा रहेको छ ।

यसअघि उपसभापति स्वर्णिम वाग्लेले शनिबार चितवनमा भएको कार्यक्रममा अदालतको आदेशको आलोचना गरेका थिए । लामिछानेले चितवन गएर अदालतमा उपस्थित हुने तयारी गरेको तर रातारात पक्राउ गरिएको वाग्लेको दाबी गर्दै वाग्लेले उच्च अदालतको आदेशमाथि प्रश्न उठाएका थिए । 

‘सात बजेतिर फैसला आउने । आजको आजै दुनियाँकै ठूलो अपराधीजस्तो गरेर आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो हिजो । त्यो असाध्यै निन्दनीय छ,’ वाग्लेले भनेका थिए, ‘फैसला के रहेछ भनेर हेरेँ हिजो । दुईजना न्यायाधीशहरूले लेख्नुभएको । सात–आठ पानाको छ । त्यहाँ क्यानडाका उदाहरण दिइएका छन् । त्यहाँ हिन्दुस्तानका उदाहरण दिइएका छन् । बाफरे बाफ कस्ता कस्ता ट्यालेन्टेड न्यायमूर्ति आएछन् नेपालमा भनेर एकछिन गमे पनि, तर त्यो बहस सकिएको दुई घण्टाभित्र लेख्न सकिने फैसला थिएन । त्यो तानाबाना पहिल्यै बुनिएको रहेछ थप प्रमाण त्यो पनि हो जस्तो मलाई लागेको छ ।’ लामिछानेलाई न्यायालयको चंगुलमा फसाउने र जिल्ला– जिल्ला घुमाइरहन र सार्वजनिक कार्यक्रममा देखिनबाट बञ्चित गराउन सरकार लागेको पनि वाग्लेले आरोप लगाएका थिए ।

कान्तिपुर

Link copied successfully