काठमाडौँ — राप्रपाले काठमाडौंको बल्खुमा मंगलबार शान्तिपूर्ण प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित सभामा वक्ताले गणतन्त्रवादीदेखि राजासम्म अटाउने नवीन समझदारीको माग गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रवादीदेखि राजासम्म सबै अटाउन सक्ने व्यवस्थाको पक्षधर आफ्नो पार्टी रहेको बताए । ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौं, जहाँ राजादेखि गणतन्त्रवादी अटाऊन्,’ उनले भने, ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दु राष्ट्र हुनुपर्छ ।’ उनले राप्रपा प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूपको पक्षमा रहेको बताए ।
चैत १५ मा राजावादीको प्रदर्शन हिंसक बनेको थियो । बल्खुमा मंगलबार आयोजित सभामा भने कुनै हिंसक घटना हुन नदिन राप्रपाले स्वयंसेवक परिचालन गरेको थियो । पार्टी अध्यक्ष लिङ्देनले तीनकुनेमा भएको सभामा राज्य आतंक सिर्जना गरिएको आरोप लगाए । ‘सुनियोजित तरिकाले राज्यले हिंसा भड्कायो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए, त्यसको हिसाबकिताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने, ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’
तीनकुने घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन तथा रवीन्द्र मिश्र र धवलशमेशरसहितलाई यथाशीघ्र रिहाइ गर्नसमेत उनले माग गरे । पार्टीका पूर्वअध्यक्ष वरिष्ठ नेता पशुपतिशमशेर राणाले २०४६ सालको राजनीतिक सहमतिविपरीत देशलाई गणतन्त्र र धर्मनिरपेक्ष गरिएकामा राप्रपाले त्यसको विरोध गरेको उनले बताए । अर्का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले जनताको मतबाट जितेर शासक बनेकाहरूमा रावण प्रवृत्ति देखिएको आरोप लगाए । सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आफ्नो पार्टीका नेताहरूलाई झूटा मुद्दा लगाएर थुन्ने कोसिस गरिए नेताहरूको घर घेर्ने चेतावनी दिए ।
