नेपाल बार चुनाव : मिश्र दोब्बर मतले अगाडि 

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Nepal Bar Election: Mishra leading by double votes

काठमाडौँ — नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र झण्डै दोब्बर मतले अगाडि रहेका छन् । एसोसिएसनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गत मतगणनाको तेस्रो दिन पनि मिश्रले अग्रता कायमै राखेका हुन् ।

पछिल्लो परिणामअनुसार मिश्रले ४ हजार २ सय ७२ मत ल्याएर अग्रता कायम गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ८ सय ४३ मत प्राप्त गरेको मतगणना अपडेटमा उल्लेख छ ।  

बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षसहित अरु पदका उम्मेदवारको अग्रता पनि कायम छ ।

बारको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । ९ हजार ९ सय ५७ मतदाता रहेकामा निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । 

नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उम्मेदवार रहेका छन् ।

तेस्रो दिन पनि मतगणना बिहान ८ बजे जारी छ । 

कान्तिपुर

Link copied successfully