लामिछाने पक्राउ प्रकरण : छानबिन गर्न मानव अधिकार आयोगलाई रास्वपाको ज्ञापनपत्र

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Lamichhane arrest case: RSVP's memorandum to Human Rights Commission for investigation

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयन गर्ने क्रममा प्रहरीले संविधानप्रदत्त मानवअधिकार उल्लंघन गरेको ठहर गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई यसबारे छानबिन गर्न ज्ञापन पत्र बुझाएको छ ।

पूर्पक्षका लागि थुनामा पठाउनु भन्ने उच्च अदालतको आदेश कार्यान्वयन गर्न जघन्य अपराधीलाई झैं रातारात प्रहरी घरमा गएर ओछ्यानबाटै पक्राउ गरेको रास्वपाले जनाएको छ । त्यस्तै पक्राउ गर्दा मृत्युदण्ड दिन लागिएको व्यक्तिलाई झैं अन्तिम इच्छा के छ भनी सोधिएको र प्रतिशोध साँधेको पार्टीले जनाएको छ । प्रक्रियाभन्दा भिन्न तरिकाले आदेश आएलगत्तै प्रहरी परिचालन गरिएको उल्लेख गर्दै आयोगबाट घटनामाथि अनुसन्धान हुनु पर्ने रास्वपाको माग छ ।

रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियार, सांसद गणेश पराजुलीलगायतको टोलीले बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटी घटनाबारे बताएका पनि थिए ।

अध्यक्ष मगरले ज्ञापनपत्रमा उठाइएका विषयबारे सुरुमा अनुगमन गर्ने र परे अनुसन्धान गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता रास्वपाको टोलीसामू राखेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully