म्यानपावर व्यवसायी संघको चुनावमा गेलाल र गुरुङ पक्षबीच प्रतिस्पर्धा

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Competition between Gelal and Gurung factions in Manpower Professionals Association elections

काठमाडौँ — नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी कार्यकालको लागि म्यानपावर व्यवसायी नरेश गेलाल र भुवनसिंह गुरुङ नेतृत्वको प्यानलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

चैत २९ गते काठमाडौंमा हुन गइरहेको संघको ३० औं महाधिवेशनमा दुई पक्षबीच चुनावी प्रतिस्पर्धा हुन लागेको हो । एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको तर्फबाट गेलालको नेतृत्वमा संयुक्त प्यानल बनाइएको हो ।

कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र माओवादी निकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चको तर्फबाट गुरुङको नेतृत्वमा संयुक्त प्यानल बनाइएको छ । कांग्रेस निकट एसोसिएसनको दुवै पक्षले आ–आआफ्नो प्यानललाई कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै आइरहेका छन् ।

२९ औं महाधिवेशसनमा गुरुङले अध्यक्ष पदमा कांग्रेसको आधिकारिक उम्मेदवार एसोसिएसनका तत्कालीन अध्यक्ष कुमुद खनालकाविरुद्ध बागी उम्मेदवारी दिएका थिए । गुरुङ र खनालबीच प्रतिस्पर्धा हुँदा एमालेका राजेन्द्र भण्डारी निर्वाचित भएका थिए ।

खनाल समूहले छुट्टै प्यानल खडा नगरी गेलालको नेतृत्वमा आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा पठाएका हुन् । कांग्रेसको तर्फबाट गेलाल समूहका प्रथम उपाध्यक्षमा उम्मेदवारी दिएका सुजितकुमार श्रेष्ठले सत्ता साझेदार रहेका दलबीच एउटै समूह बनाएको बताए ।  

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पूर्वमहासचिव गेलालले श्रमिक र व्यवसायी दुवैको हितका लागि आफ्नो प्यानलले काम गर्ने विषयलाई प्राथमिकता दिइएको बताए । ‘हामी म्यानपावरको इजाजत नवीकरणमा अनिवार्य गरिएको सय जना पठाउनै पर्ने प्रावधानलाई हटाउनेछौं । मागपत्र प्रमाणीकरणमा सहजतादेखि वैज्ञानिक सेवा शुल्क लागु गर्नेतर्फ काम गर्छौ,’ उनले भने,‘युरोपेली देशको नयाँ श्रम गन्तव्यमा जाने विषयलाई सहज बनाउनेछौं । श्रमिकको सीप विकासमा ध्यान दिनेछौं ।’

एसोसिएसनका अध्यक्ष दीपक थापाले कांग्रेसको आधिकारिक उम्मेदवार गुरुङको प्यानल भएको दाबी गरे ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व द्वितीय उपाध्यक्ष गुरुङले कुनै पनि आवरणमा आफूहरुले एकाधिकार हुन नदिने बताए । ‘म व्यवसायीको नेता नभई सेवक भएर काम गर्नेछौं । यो क्षेत्रमा भएका समस्यालाई समाधान गर्न सबै पक्षसँग समन्वय गर्नेछौं,’ उनले भने, ‘यो क्षेत्रमा कुनै पनि आवरणमा सिन्डिकेट हुन दिइने छैन ।’

दुवै पक्षले आ–आफ्नो चुनावी घोषणापत्र जारी गर्दै मत माग्दै व्यवसायीबीच पुगिरहेका छन् । संघका महासचिव मेघनाथ भुर्तेलका अनुसार ३० औं महाधिवेशनमा ९ सय  ३ जना प्रतिनिधिले मत हाल्न पाइनेछ । यो अघिल्लो महाधिवेशनमा भन्दा दुई सय जना बढी हो ।

गेलाल नेतृत्वको प्यानल

Competition between Gelal and Gurung factions in Manpower Professionals Association elections

अध्यक्ष : नरेश गेलाल, प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष मधुकर रिजाल, तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभव, महासचिव कर्णराज कटुवाल, सचिव अनिल बोगटी र कोषाध्यक्ष धनुमाया सिँजाली रहेका छन् ।

त्यस्तै सदस्यहरु क्रमशः देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बू, हिमा गुरुङ, रमा खड्का, दिनेश बस्नेत, कामेश्वर साह राहुल, छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादव रहेका छन् ।

गुरुङ नेतृत्वको प्यानल

Competition between Gelal and Gurung factions in Manpower Professionals Association elections

अध्यक्ष भुवनसिंह गुरुङ, प्रथम उपाध्यक्ष नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष हर्कबहादुर लिम्बू, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे दिम्दोङ, कोषाध्यक्ष विक्रम श्रेष्ठ र सदस्यहरु क्रमशः विद्यालक्ष्मी बज्राचार्य, राज लामा तामाङ, देवीप्रसाद गिरी, दीपककुमार राय, सुवर्ण लामा, सुमनराज पाण्डे, कैलाश पाठक, गीता राउत, भरत सापकोटा, रेखा शर्मा र कृष्ण ढकाल रहेका छन् ।

स्वतन्त्रतर्फ

प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिव ईश्वर सापकोटा रहेका छन् ।

कान्तिपुर

Link copied successfully