आज देश दुनियाँमा के के भयो ?

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — जन्मिँदै राजा र रैती हुने व्यवस्था नमान्ने प्रधानमन्त्री ओलीको भनाइ, बालुवाटारको भातपानी बन्द गर्ने राप्रपा अध्यक्ष लिङ्देनको चेतावनीदेखि कर बढाउने ट्रम्पको धम्कीपछि अमेरिकासँग अन्तिमसम्म लड्ने चीनको चेतावनीसम्मका समाचार आज चर्चामा रहे । 

०००

प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताएका छन् । उनले दुई/चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने बताए । मधेश प्रदेशसभालाई मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘नयाँ जेनेरेसनले त राजतन्त्र भोगेका छैनन् । उनीहरूमा राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ । नयाँ जेनेरेसनलाई पनि हामीले सचेतना जगाउनेछौं ।’  

०००

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले आफूहरूलाई निषेधको राजनीति गरेको आरोप लगाएका छन् । बल्खुमा मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई भृकुटीमण्डपमा सभा गर्न नदिएकोमा पनि आक्रोश व्यक्त गरे । केही हजार मान्छेको र्‍याली निस्कन्छ भनेर सरकार डराएको उनको आरोप छ ।  

०००

चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई थप १५ दिन म्याद थप भएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनीहरूविरुद्ध अनुसन्धान गर्न थप १५ दिनको म्याद दिएको हो । 

०००

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलरत शिक्षकलाई वार्तामा आउन आमन्त्रण गरेको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादमा आउन नेपाल शिक्षक महासंघलाई आग्रह गरेका हुन् ।

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनमाथि अतिरिक्त ट्यारिफ लगाउने धम्की दिएपछि चीनले पनि आफ्नो प्रतिक्रिया दिएको छ । ट्रम्पको धम्कीलाई चिनियाँ वाणिज्य मन्त्रालयले ‘एक अर्को ठूलो गल्ती’ बताएको छ । मन्त्रालयले अमेरिकाको कुनै पनि प्रकारको धम्कीलाई स्वीकार नगर्ने र अन्तिमसम्म ट्यारिफविरुद्ध पूरै ताकतले लड्ने चेतावनी दिएको छ । 

कान्तिपुर

Link copied successfully