वीरेन्द्रनगर — एमाले महासचिव शंकर पोखरेलले जनताले ल्याएको परिवर्तन विरुद्ध प्रतिगामीहरू सल्बलाइरहेको बताएको छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा अढाई सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैंका लागि बिदा गरिसकेकोले उसले सत्कर्म गरेको रहेनछ भन्ने प्रमाणित भइसकेको बताए ।
'प्रेत बनेर जनतालाई तर्साउन खोजेको छ,' उनले भने, 'हामी त्यही प्रेत मन्साउन आइराखेका छौं । हामी खबरदारी गर्नका लागि यहाँ उपस्थित भएका छौं ।' कतिपयले सरकारमा रहेर पनि जागरणसभा गरेको भन्दै प्रश्न उठाएको उनको भनाइ छ । त्यसबारे प्रस्ट पार्दै उनले भने, 'कसैले सरकारसँग जनताका माग बोकेर आन्दोलन गरेको भए सडकमा आउनुपर्ने थिएन । जनताले ल्याएको परिवर्तनविरुद्ध कसैले औंला ठढ्याउने काम गर्दछ भने खबदारी गर्नै पर्दछ ।'
जनता के चाहन्छन् भन्ने कुरा एमालेले बुझेको महासचिव पोखरेलको दाबी छ । जनताले ल्याएको परिवर्तनको रक्षा गर्ने जिम्मेवारी एमालेले बोक्न सक्ने सन्देश दिनका लागि पनि जनताको बीचमा आएको उनको भनाइ छ ।
'कर्णाली प्रदेशलाई अँध्यारोमा राखेका राजावादी मण्डलेहरू गणतन्त्रले के दियो भन्छन् ?,' उनले भने, 'गणतन्त्रले दियो । एक पोका नुन बोक्नका लागि हेलिकप्टरको प्रतीक्षा गर्नुपर्ने कर्णालीवासीलाई आज मोटरबाट सामान पुग्न थालेको छ । गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्नसक्नुपर्छ । दसैंका बेलामा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन् ।'
