बार एसोसियसनको अध्यक्षमा मिश्र झन्डै दोब्बर मतले अगाडि

चैत्र २६, २०८१

आरती पौडेल

Mishra led by nearly double the number of votes in the Bar Association presidency

काठमाडौँ — नेपाल बार एसोसियसनको अध्यक्षमा  वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र झन्डै दोब्बर मतले अगाडि रहेका छन् । एसोसियसनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचन मतगणनाको दोस्रो दिन पनि मिश्रले अग्रता कायम राखेका हुन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार मिश्रले २ हजार १० मत ल्याएर अग्रता कायम गरेका छन्  । उनका निकटतम् प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १ हजार ७ ल्याएका छन् । 

नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९ सय ५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यवसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।

वरिष्ठ अधिवक्ता मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उम्मेदवार रहेका छन् । मतगणना बिहान ८ बजेबाट जारी भएको थियो । जसमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षसहित अरु पदका उम्मेदवारको अग्रता कायम रहेको छ ।

आरती पौडेल

Link copied successfully