काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको सभामा घुसपैठ नहोस् भन्नका लागि स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको छ । सभालाई शान्तिपूर्ण र मर्यादित बनाउन राप्रपले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएको राप्रपा महामन्त्री शरदराज पाठकले जानकारी दिए ।
‘१५ गतेको प्रर्दशनमा प्रहरीको कमजोरीले प्रदर्शन हिंसात्मक बन्यो । यसपटक हाम्रो कार्यक्रममा घुसपैठ नहोस् भन्ने उद्देश्यले स्वयंसेवक परिचालनमा विशेष ध्यान दिएका छौँ,’ पाठकले भने,‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउनको लागि हामी प्रतिबद्ध छौँ । आयोजकबाट असंवेदनशील गतिविधि हुन्न । बाहिरबाट त्यस्तो हुन सक्छ यसमा प्रहरी प्रशासन नै जिम्मेवार बन्नु पर्छ । ’ स्वयंसेवकले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न मुख्य भूमिका खेल्ने पाठकले बताए । घुसपैठ नहोस् र सभा शान्तिपूर्ण होस् भन्न उद्देश्यले प्रहरी प्रमुखसँग पनि राप्रपाले छलफल गरेको थियो । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुन:स्थापनाको मागसहित राप्रपाले बल्खुमा गर्न लागेको यो सभालाई बागमती प्रदेशस्तरीय सभा भनिएको छ । बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ता र समर्थकहरू सभाका लागि काठमाडौं आइरहेका छन् । पाठकका अनुसार दिउँसो ११ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रबाट आएका जुलुस बल्खुमा जम्मा हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी आयोजकको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ । पाठकका अनुसार सडकको एक छेउमा सभा आयोजना हुन लागेकाले सवारी आवागमनलाई समेत प्रभाव नपार्ने गरेर तयारी गरिएको छ ।
यसअघि राप्रपाका नेताहरूसमेतको सहभागितामा राजावादीहरूले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । सभा स्थलको सुरक्षाका लागि प्राप्त संख्यामा प्रहरी खटाइने काठमाडौं प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । प्रहरीले कार्यक्रमको सिसिटिभी र ड्रोनबाट समेत निगरानी गर्नेछ ।
‘उपत्यकामा अहिले शिक्षकको, सहकारी पीडितको पनि आन्दोलन छ । हामीले यो आन्दोलनसँगै राप्रपाको सभालाई पनि विशेष सुरक्षा ध्यानमा राखेका छौँ,’ उपरीक्षक बोहराले भने । प्रहरीले प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियता, राजसंस्थालाई एकताको प्रतीक, वैदिक सनातन हिन्दु अधिराज्य, धार्मिक, सहिष्णुता र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्नेसहित ४० बुँदे माग राख्दै गत वर्ष सरकालाई ज्ञापन पत्र बुझाएको छ । यी माग पूरा नभएको भन्दै ७ गते बाट घोषित आन्दोलनको तयारी समेत गर्दै छ ।
