आज देश दुनियाँमा के-के भयो ?

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — सोमबार इकान्तिपुरमा काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनदेखि साउदी अरबले विभिन्न देशका नागरिकमाथि लगाएको भिसा प्रतिबन्धसम्मका समाचार प्रकाशित भएका छन् । केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै देशभरका शिक्षक काठमाडौंमा प्रदर्शनरत छन् ।

काठमाडौंकेन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन् । आजैदेखि नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गरेको छ । सरकारले आफ्ना मागमा बेवास्ता गरेपछि चैत २० देखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताएका छन् ।

त्यस्तै कायम मुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पाएकी छन् । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् । सरकारले नयाँ गभर्नर नियुक्तिको तयारी थालिसकेको छ । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुगिरहेको आरोप लगाएका छन्। उनले वायु प्रदूषण मापदण्ड कार्यान्वयनमा समेत प्रहरीबाट सहयोग नभएको आरोप लगाए।

काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब बुझेका छन् । तीन महिनादेखि रोकिएको तलब महानगरका कर्मचारीले आज पाएका हुन् । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए ।

त्यस्तै साउदी अरबले भारत, पाकिस्तानसहित १४ देशका नागरिकहरुलाई भिसा प्रतिबन्ध लगाएको छ । आगामी हज यात्रालाई लक्षित गर्दै भीड व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्नका लागि यी देशका नागरिकहरुलाई उमरा, व्यापारिक तथा पारिवारिक भ्रमणका लागि भिसा प्रदान गर्न अस्थायी रुपमा रोक लगाएको हो । भिसा प्रतिबन्धको सूचीमा भारत, बङ्गलादेश, पाकिस्तान, इजिप्टलगायतका मुलुकहरू परेका छन् ।

कान्तिपुर

Link copied successfully