काठमाडौँ — नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना भइरहेको छ । कोशी प्रदेशका चार र मधेशको एक जिल्लाको मतगणना परिणाम सार्वजनिक भएको छ । जसअनुसार एमाले र कांग्रेस निकट कानुन व्यवसयासीका उम्मेदवार वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले अग्रता लिएका छन् ।
कोसी प्रदेशका झापा, इलाम, धनकुटा र उदयपुर तथा मधेश प्रदेशको सिरहा जिल्लाको मतगणना सकिँदा मिश्रले २ सय १५ मत प्राप्त गरेका छन् ।
माओवादी र रास्वपानिकटका कानुन व्यवसायीको गठबन्धनका अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले १ सय ३२ मत प्राप्त गरेको नेपाल बारले जारी गरेको मतगणना अपडेटमा उल्लेख छ ।
एसोसियसनको नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचन भएको थियो । बारमा देशभरबाट ९ हजार ९ सय५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।
