काठमाडौंमा वायू प्रदूषणले त्रस्त सर्वसाधारण, सरकारको तयारी शून्य 

बढ्दो प्रदूषणले वृद्ध, बालबालिका, दीर्घरोग भएका बिरामीलाई सकस

चैत्र २५, २०८१

नुमा थाम्सुहाङ

Common people suffering from air pollution in Kathmandu, Government's preparations are zero

काठमाडौँ — काठमाडौंको वायु गुणस्तर फेरि अस्वस्थ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स  (एक्यूआई) का अनुसार काठमाडौंको वायु गुणस्तर सोमबार साँझ ६ बजे २६२ एक्यूआई पुगेको हो । यो भनेको वायु गुणस्तरको ‘खतरनाक तह’ हो । 

दुई सातादेखि काठमाडौंको हावा प्रदूषित बनेको छ । यसैगरी काठमाडौं सहर सोमबार पनि विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा छ । खासगरी पछिल्लो समय विभिन्न जिल्लामा फैलिइरहेको डढेलोले काठमाडौंको हावा प्रदूषित बनेको वातावरणविद्हरूले जनाएका छन् । चार दिनअघि नै काठमाडौंको हावाले ‘खतरनाक’ तह पार गरिसकेको थियो । चैत २१ (बिहीबार) काठमाडौंको वायुको गुणस्तर ३८४ एक्यूआई पुगेको थियो ।

लगातार काठमाडौंका हावा प्रदूषित बनिरहँदा सरकारको तर्फबाट यसलाई कम गर्ने कुनै योजना भने देखिँदैन । काठमाडौंमा वायुले खतरनाक तह पार गरेको र लगातार प्रदूषित सहरको शीर्षमा उक्लिँदा पनि सरकारले यसमा कुनै ठोस निर्णय गर्न सकेको छैन ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्रदूषण कम गर्न अनुरोध र निर्देशन गरिरहेको बताएका छन् । साथै उनी सरकारी निकायले मात्र प्रदूषण कम गर्न नसक्ने र यसमा नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने सुनाउँछन् ।

‘अहिले डढेलो, सवारीसाधन, उद्योग, कृषि अवशेष जलाउने कामले प्रदूषण बढाइरहेको छ,’ उनले भने, ‘यिनै निकायसँग हामीले समन्वय अगाडि बढाउने, सुझाव दिने र प्रदूषण कम गर्न अपिल र अनुरोध गरेका छौं ।’ पानी पर्न नसकेको र यस सिजनमा प्रदूषण उच्च नै रहने उनको भनाइ छ । 

Common people suffering from air pollution in Kathmandu, Government's preparations are zeroबढ्दो प्रदूषणले वृद्ध, बालबालिका, दीर्घरोग भएका बिरामीलाई झन् समस्या पर्ने डाक्टरहरू बताउँछन् । यसैगरी अहिले काठमाडौंका अस्पतालमा छाती र आँखा बिरामी १५ देखि २० प्रतिशत बिरामी बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । बिरामी बढिरहे पनि सरकारले कुनै निर्णय नसकेको उनको भनाइ छ ।

‘काठमाडौंमा वायुको गुणस्तरले खतराको तह पार गर्नेबित्तिकै हामीले सूचना जारी गर्‍यौं र विज्ञसहित सरकारलाई यसमा केही निर्णय गर्न भन्यौं,’ उनले भने, ‘तर केही भएको छैन । हामीले गर्न सक्ने भनेको हाम्रा अस्पताललाई बिरामीको चाप बढ्न सक्छ । तयारी रहनु होला । यसमा हामीले काम गरेका छौं ।’ 

यही सन्दर्भमा वातावरण पत्रकास समूहले सोमबार वातावरणसँग जोडिएका विभिन्न संघ/संस्था र विज्ञसँग ‘वायु प्रदूषणको कहरः जवाफदेही को ?’ भन्ने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको छ । विज्ञहरूले सरकारलाई प्रदूषण न्यूनीकरणका उपाय तत्काल निकाल्न सुझाएका छन् ।

Common people suffering from air pollution in Kathmandu, Government's preparations are zero

कार्यक्रममा वायु गुणस्तर विज्ञ डा. भूपेन्द्र दासले हरेक वर्षको सुख्खा याममा डढेलोलगायतका अन्य कारणले प्रदूषणको समस्या बढ्ने तथ्य र प्रमाणहरू भए पनि जटिल भएपछि मात्रै समस्याका उपाय खोज्नु व्यवहारिक बताए । ‘हामी खराब हावामा सास लिइरहेका छौं,’ उनले भने, ‘नेपाल, भारत, बंगलादेश, पाकिस्तान हरेक वर्ष प्रदूषणको जोखिममा छन्, समाधानका उपाय खोज्न ढिलो गर्नु हुँदैन ।’ विश्वमै खुला ठाउँमा कृषि अवशेष जलाउने काममा नेपालको भूमिका २ प्रतिशत छ । विस्थापित गर्ने भनिएका युरो-१ र युरो-३ मापदण्डका सवारी साधनले फाल्ने धुँवा, उद्योग कलकारखानाबाट निस्कने प्रदूषणलाई समस्याका नियमित कारण बनिरहेका उनले बताए ।

यसैगरी अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार गत यही ८ चैत (गत २१ मार्च)देखि हरेक दिन काठमाडौं र नेपालका अन्य भेगको प्रदूषण निरन्तर खस्किरहेको छ । नेपालमा हरेक वर्ष जनवरीदेखि अप्रिल महिनासम्म प्रदूषण बढ्ने गर्छ । यसमा अन्तरदेशीय कारण पनि रहेको इमिमोडकी वायु गुणस्तर विज्ञ डा.खुश्बु शर्माले बताइन् ।

Common people suffering from air pollution in Kathmandu, Government's preparations are zeroउपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले खतरनाक तहमा पुगेको छ । एक्यूआई २ सयभन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ । यही २३ चैतमा भक्तपुरमा एक्यूआई ३ सय ६५ पुगेको थियो । त्यसअघि र त्यसपछिका दिनहरूमा पनि २४ घण्टा र प्रत्येक घण्टाको वायुमा विषाक्त कणको मात्रा उच्च भएपछि देशैभर स्वासप्रश्वास र अन्य स्वास्थ्य समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

हरेक वर्ष नेपालीहरूको कूल मृत्युको १९ प्रतिशत कारण श्वासप्रश्वास (प्रदूषण) सँग जोडिएको र प्रदूषणका कारण ४.८ प्रतिशतका दरले नेपालीहरूको औसत आयु घटिरहेको डा.बुढाथोकी बताउँछन् । उनले प्रदूषण समस्या घटाउन यसअघि बनेका नीति, कार्ययोजना कार्यान्वयन नहुँदा, अन्तर निकायहरूबीच समन्वय नहुँदा समस्या जटिल भएको उनले बताए ।

पश्चिमी वायु सक्रिय नहुँदा ६ महिनासम्म पानी नपर्दा प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् । ‘हामीले यसअघि हिउँदे वर्षा कम हुन्छ भनेका थियौं,’ उनले भनिन्, ‘तर अब पानी पर्ने संकेत देखिएको छ । आशा गरौं चाँडै हुन्छ ।’

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully