प्रहरीले पत्रकार सम्मेलन गरेर ५८ राउन्ड हवाई फायर दाबी गरे पनि एसएलआर र इन्सासबाट ८१ जंगी राउन्ड (गोली प्रहार), १६५ ब्ल्यांक राउन्ड र पेस्तोलबाट २ राउन्ड गोली प्रहार भएको आन्तरिक प्रतिवेदन
काठमाडौँ — राजावादीले चैत १५ मा गरेको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न संयमित भएर आवश्यक मात्र बल प्रयोग गरेको दाबी प्रहरीले गर्दै आएको छ । तर घाइतेको लामो सूची, प्रदर्शनमा सहभागी नभएकालाई पनि गोली प्रहार र घातक हतियारको प्रयोगले प्रहरीको दाबीमाथि नै प्रश्न उठेको छ ।
प्रहरीले भीड नियन्त्रणका लागि प्रयोग गरेको गोलीगट्ठाको तथ्यांक लुकाएको पुष्टि भएपछि थप आलोचना भएको छ ।
राजावादीको प्रदर्शनको पाँचौं दिन बुधबार प्रहरीले घटनाबारे जानकारी दिन पत्रकार सम्मेलन गरेको थियो । कार्यक्रममा प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले सार्वजनिक गरेका तथ्य प्रहरीले नै आन्तरिक रूपमा तयार पारेको प्रतिवेदनभन्दा फरक छ ।
प्रहरीले ५८ राउन्ड हवाई फायर भनेकोमा दोब्बर संख्यामा भीड तितरबितर पार्नेदेखि भड्किएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले एसएलआर र इन्सास राइफल प्रयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
तर कार्यक्रममा प्रवक्ता आचार्यले एसएलआर र इन्सास राइफल प्रयोग गरेको विषय खुलाएका थिएनन् । एसएलआर अर्धस्वचालित बन्दुक हो, जसमा एकसाथ १८ वटासम्म गोली लोड गरेर ३ सय मिटर टाढासम्म प्रहार गर्न सकिन्छ । इन्सास भने एसएलआरभन्दा सानो आकारको आधुनिक अर्धस्वचालित राइफल हो । युद्धमा प्रयोग हुने यी दुवै हतियार घातक मानिन्छन् ।
प्रवक्ता आचार्यले ५८ राउन्ड हवाई फायर भएको दाबी गरेका थिए । तर प्रहरीको आन्तरिक प्रतिवेदनमा भने एसएलआर र इन्सास राइफलमार्फत ८१ जंगी राउन्ड र १ सय ६५ ब्ल्यांक राउन्ड फायर गरेको उल्लेख छ ।
सर्टगनमार्फत कार्टिज ३ र रबर छर्रा २ सय १ फायर गरेको परिसरको प्रतिवेदनले देखाएको छ । त्यस्तै पेस्तोलबाट २ राउन्ड फायर गरिएको थियो । प्रहरीले भीड नियन्त्रणका लागि लाठी ५९, सिल्ड/ढाल ४९, हेल्मेट ४९, मेघाफोन १, हेन्डसेट १ र फुल गियर ५ वटा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सार्वजनिक गरेको तथ्यांक र आन्तरिक प्रतिवेदनमा फरक परेको अर्को विषय हो, अश्रुग्यास प्रहार । पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले ७ सय ४६ सेल अश्रुग्यास प्रहार गरिएको जनाएका थिए । तर आन्तरिक प्रतिवेदनमा भने ८ सय ६८ सेल प्रहार भएको उल्लेख छ । यी अश्रुग्यास म्याद गुज्रेको पाइएको छ । प्रहरीले फेब्रुअरी २००८ मै म्याद सकिएकोअश्रुग्यास सेलसमेत प्रयोग गरेको थियो । म्याद सकिएको उपकरण प्रयोगलाई मानवअधिकारका दृष्टिले ‘अमानवीय’ मानिन्छ । म्याद गुज्रेका यस्ता उपकरण प्रयोगले सुरक्षा कमजोर हुन्छ भने स्वास्थ्यमा गम्भीर असर पार्छ ।
तर आचार्यले प्रहरीले म्याद भएकै अश्रुग्यास प्रयोग गरेको र म्याद गुज्रेको अश्रुग्यासबारे जानकारी नभएको बताएका थिए । प्रहरीले बल प्रयोग गरेको खुल्ने गरी सामाजिक सञ्जालमा आएका भिडियो पनि झूटा भएको उनले दाबी गरेका थिए ।
प्रहरी अधिकारी यस विषयमा आफूहरूले लुकाउनुपर्ने केही नभएको दाबी गर्छन् । ‘त्यत्रो घर जलेको छ, लुटपाट भएको छ, यो क्षतिलाई पनि हेरौं,’ प्रवक्ता आचार्यले भने, ‘सबै गोली र अश्रुग्यास मान्छे ताकेर हानिएको होइन, भीड नियन्त्रणका लागि प्रयोग गरिएको हो ।’ आचार्यका अनुसार २० जनालाई गोली लागेकामा १२ जनालाई लागेको गोली रबरको हो । ‘भीड नियन्त्रणका लागि प्रहरीले धेरै नै संयमित भएर काम गरेको छ, जसले धेरै क्षति हुन पाएन,’ उनले भने ।
तर प्रहरीका पूर्वअधिकारी तीनकुने घटनामा प्रदर्शनले हिंसात्मक रूप लिन सक्ने आकलन नभएको र त्यसका लागि आवश्यक पूर्वतयारी नभएको समेत बताउँछन् । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) प्रद्युम्न कार्की भीड नियन्त्रणका लागि सामान्य सावधानीसमेत नअपनाइएको बताउँछन् । ‘आयोजकले ४/५ दिनदेखि नै मानिसहरूलाई उचालिरहेका थिए । प्रदर्शनका कमान्डरले नै उत्तेजित बनाउने भाषण र आह्वान गरेको थाहा हुँदाहुँदै पनि यसको मूल्यांकन गरिएन,’ उनले भने ।
कार्कीको अनुभवमा सामान्य अवस्थामा प्रदर्शनकारीहरू एकै ठाउँमा भेला हुने, नारा लगाउने र बिस्तारै आफूले सोचेको जस्तो नभए उत्तेजित हुने गर्छन् । ‘चैत १५ मा प्रदर्शनकारी घरबाट नै आक्रामक र उत्तेजित भएर आएको देखिन्थे,’ कार्कीले भने, ‘एकै पटक प्रहरीसँग निहुँ नै खोजेको देखिन्छ ।’ प्रदर्शन भड्काउन खोज्नेलाई प्रहरीले पहिल्यै पक्राउ गर्न सक्ने भए पनि प्रहरीले त्यो सुझबुझ प्रयोग नगरेको उनी बताउँछन् ।
सुरक्षा निकाय एक ठाउँमा मात्र केन्द्रित हुँदा पनि यो समस्या आएको उनको बुझाइ छ । ‘एक ठाउँमा प्रहरीले लाठीचार्ज गरेपछि भागेको टोलीले अर्को ठाउँ पुगेर क्षति गरेको छ,’ कार्कीले भने, ‘प्रहरी छरिएर बस्नुपर्थ्यो तर एक ठाउँमात्र केन्द्रित भएर सुरक्षा दिनु पनि कमजोरी रह्यो । प्रहरीले भीड नियन्त्रण र निषेधित क्षेत्र नतोडियोस् भन्नका लागि तारबार र फलामे सुरक्षा घेरा (ब्यारिकेड) लगाएको पनि देखिएन ।’ सोही कारण आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंले प्रहरीलाई नै पेल्दै गाडी कुदाएको कार्कीले बताए । प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर पनि छाडेको थियो । उनी अहिले फरार छन् ।
‘प्रहरीले सूचना लुकाउन आवश्यक नै छैन । परिस्थितिका कारण बरु कहिलेकाहीं कमान्डरको नियन्त्रणभन्दा अवस्था बाहिर जान सक्छ । कहिले जति नै प्रयास गर्दा पनि प्रदर्शन नियन्त्रणमा नआउन सक्छ,’ कार्कीले भने, ‘त्यो समयमा हातहतियारको प्रयोग बढी पनि हुन सक्छ । यसको प्रयोगसम्बन्धी सूचना लुकाउन आवश्यक छैन । घटनाक्रमअनुसार वास्तविकता बताउनु उपयुक्त हुन्छ ।’ तीनकुने विरोध प्रदर्शनका लागि त्यति प्रयोग हुने स्थान होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले पनि यहाँ प्रदर्शनले दुर्घटना निम्त्याउने जोखिम रहन्छ । तर राजावादीलाई उक्त क्षेत्रमा प्रदर्शन गर्न दिने जिल्ला प्रशासन कार्यालयको निर्णयको पनि अहिले आलोचना भइरहेको छ । २०८० मंसिर ७ मा एमाले भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं समूहले एकैदिन शक्ति प्रदर्शनका लागि सडक रोजेका थिए । त्यतिबेला प्रशासनले प्रदर्शनका लागि युवा संघलाई तीनकुने र प्रसाईंलाई बल्खु क्षेत्र छुट्याएको थियो । जसका कारण दुई पक्षबीच झडप हुन पाएको थिएन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आन्दोलनका क्रममा घाइतेमध्ये १३ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । प्रदर्शनमा नेपाल प्रहरीतर्फ ५५ र सशस्त्र प्रहरीतर्फ २५ जना घाइते भएको प्रहरीले बताएको छ । प्रहरीकै गोली लागेर प्रदर्शन भएको दिन कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । राजावादीले आगो लगाएको घरभित्र पत्रकार सुरेश रजक जलेर मृत अवस्थामा फेला परेका थिए । प्रहरीले १ सय ५५ जनालाई पक्राउ गरेकामा ६६ जनाविरुद्ध म्याद थप गरी राज्यविरुद्ध र संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ । तीमध्ये ४६ जनालाई आपराधिक उपद्रव कसुर पनि लगाइएको छ । बाँकीलाई सोधपुछपछि रिहा गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारी तीन महिलासहित ५४ जना घाइते भएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । घाइतेमध्ये शान्तिनगरका ५६ वर्षीय विकासकुमार गौतमलाई देब्रे पिँडुलामा रबर बुलेटको छर्रा, बैतडीका २४ वर्षीय आशिष बोहरालाई दाहिनेपट्टि कम्मरमा गोली, सोलुखुम्बुका २२ वर्षीय विशाल निरौलालाई देब्रे हातमा छर्रा, काठमाडौंका ४७ वर्षीय कुमारजंग रानालाई तिघ्रामा र मेरुदण्डमा रबरको बुलेट, धादिङका ३० वर्षीय राजकुमार कार्कीलाई दुवै हातमा रबरको बुलेट छर्रा, स्याङ्जाका २५ वर्षीय सुमन गुरुङलाई देब्रे गाला र कानमा रबर बुलेटको छर्रा, अछामका १९ वर्षीय राजेन्द्र रावललाई दाहिने खुट्टाको पैतालाको माथिल्लो भागमा गोली लागी प्वाल परेको र बायाँ खुट्टामा पनि चोट लागेको छ ।
यस्तै काभ्रेका २६ वर्षीय रामहरि श्रेष्ठलाई दाहिने हातको पाखुरामा गोली, काठमाडौंका ४० वर्षीय राज हुमागाईंलाई दाहिने खुट्टाको नलीमा छर्रा, भारतका १८ वर्षीय प्रिन्स कुमारलाई दाहिने खुट्टाको तिघ्रा र दाहिने हत्केलामा छर्रा, उदयपुरकी २२ वर्षीया रेबिका खत्रीलाई दायाँ तिघ्रामा गोली, खोटाङका ३१ वर्षीय जानसोन राईलाई दाहिने खुट्टाको घुँडामुनि गोली र झापाकी ४१ वर्षीया इन्द्रमाया लिम्बूलाई बायाँ तिघ्रामा छर्रा लागेको प्रहरीले बताएको छ ।
यसैगरी खोटाङका १८ वर्षीय कञ्चन राईलाई दाहिने घुँडामुनि गोली, उदयपुरका २४ वर्षीय दिनेशकुमार खत्रीलाई बायाँ तिघ्रामा छर्रा, भोजपुरका २७ वर्षीय डिल्लीप्रसाद लुइँटेललाई पेटमा गोली, भोजपुरका ३० वर्षीय शम्भु दर्जीलाई दाहिने कुममा गोली, काठमाडौंका ३४ वर्षीय अम्मर थापालाई हात र तिघ्रामा छर्रा, भक्तपुरका ७२ वर्षीय बालकृष्ण न्यौपानेलाई पेटमा छर्रा र पर्वतका ३६ वर्षीय राजन सापकोटालाई बायाँ हातमा रबरको गोली लागेको थियो । यीमध्ये १० जना अहिले पनि उपचाररत छन् ।
प्रहरीको प्रतिवेदनअनुसार राजावादीको आगजनी तथा तोडफोडबाट प्रहरीका सवारीसाधन ७, अन्य सरकारी कार्यालयका १०, संस्थानका १, निजी १८ र नम्बर नखुलेका चारपांग्रे २७ र दुईपांग्र्रे ६ गरेर ६९ वटा सवारीसाधनमा क्षति पुगेको छ । प्रदर्शनकारीले व्यक्तिका घर ६, निजी संस्था २९, सरकारी कार्यालय ३, राजनीतिक दलका कार्यालय २ सहित ४० संरचनामा क्षति पुर्याएका थिए ।
