काठमाडौँ — मानअधिकारवादी संस्थाहरुले तीनकुने घटनामा व्यापक बल प्रयोग भएको तथ्य सतहमा आउन थालेको भन्दै त्यसको निष्पक्ष विवेचना गर्न न्यायिक समिति गठन हुनु पर्ने माग गरेका छन् ।
एमनेस्टी इन्टरनेसनल, जवाफदेही निगरानी समूह, एडभोकेसी फोरम र न्याय तथा अधिकार संस्था (जुरी नेपाल) ले आइतबार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनकुने घटनामा भएको मानवअधिकार उल्लंघनका घटनाको वस्तुनिष्ठ छानबिन हुनु पर्ने माग गरेका हुन् ।
‘घटनाका सम्बन्धमा उजागर हुँदै गएका तथ्य हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग 'आवश्यक' र 'समानुपातिक' थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस घटनामा भएको बल प्रयोग, त्यसको दुष्परिणाम, साथै पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट भए गरिएका हिंसात्मक कार्यहरूको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानविन अत्यावश्यक देखिएको छ ।’
प्रहरी संगठन तथा गृह प्रशासनको विश्वसनीयता क्षयीकरण हुन नदिन पनि यस्तो स्वतन्त्र छानबिन अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ । जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ समेत अन्तर्गत यथोचित संयन्त्र गठन गरी जवाफदेहिता सुनिश्चित गर्न उनीहरूले सरकारलाई आग्रह पनि गरेका छन् ।
