लमजुङ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधानविरोधी गतिविधि नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । पूर्वराजा संविधानभन्दा माथि नरहेको भन्दै उनले संविधानविरोधी गतिविधि गरिरहे कारबाही गर्ने चेतावनीसमेत दिए ।
लमजुङको क्व्होलासोथार गाउँपालिका-५, सिङ्दीमा आयोजित गाउँपालिकास्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको आइतबार उद्घाटन गर्दै मन्त्री गुरुङले ज्ञानेन्द्रले राजनीतिक दलहरुसँगको सम्झौता तोडेको आरोप लगाए । ‘संविधानभन्दा माथि कोही छैन । संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दक्खल नगर्ने राजनीतिक दलसँगको सम्झौता ज्ञानेन्द्रले उल्लंघन गरेका छन्,’ उनले भने, ‘संविधानविरोधी गतिविधि गरिरहेमा संविधान उल्लंघनको कानुन आकर्षित हुन्छ ।’
उनका अनुसार पूर्वबडामहारानीलाई नारायणहिटीमा बस्न दिने, पूर्वराजालाई नागार्जुन दरबारमा बस्न दिने, पूर्वराष्ट्रपतिसरह सम्मान दिने, उनले संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारमा कुनै दख्खल नपुर्याउने भन्ने सम्झौता पूर्वराजाले राजनीतिक दलसंग गरेका थिए । ‘पूर्वराजाले सम्झौताको परिपालना गरेनन् । त्यो प्रस्ट देखियो’ उनले भने ।
मन्त्री गुरुङले संविधानविरोधी गतिविधिलाई साथ नदिन नागरिकलाई आग्रहसमेत गरेका छन् । ‘नेपाली जनताले रगत पसिना बगाएर ल्याएको गणतन्त्र रक्षाका लागि सरकार सधैं प्रतिबद्ध छ । संविधान कार्यान्वयन र संविधानविरोधी गतिविधिलाई साथ नदिन नागरिकको उत्तिकै कर्तव्य हो,’ उनले भने ।
उनले संविधान मिच्ने, संविधानमाथि धावा बोल्ने, नागरिकका अधिकारलाई कुण्ठित पार्ने तत्वलाई सरकारले कारबाही गर्ने चेतावनी दिए । उनले यसअघि सरकार अस्थिर भएकाले विकास निर्माणले गति नलिएको, अर्थतन्त्र धरासायी बनेको, उत्पादन रोकिएको, रोजगारी सिर्जना नभएको बताउँदै कांग्रेस–एमाले सम्मिलित सरकारले सुधारको बाटो पहिल्याउँदै अघि बढेको जिकिर गरे ।
