लगानी, व्यापार, पञ्चेश्वर परियोजना र दोधारा चाँदनीमा महाकालीबाट सिँचाइलगायत विषयमा मोदीसँग कुराकानी भएको प्रधानमन्त्री ओलीको भनाइ
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका छन् । शनिबार काठमाडौं ओर्लेलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले भ्रमण उपलब्धिमूलक भएको बताए ।
साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको ‘साइडलाइन’ भेटवार्ता पनि फलदायी भएको जनाए ।
उनले नेपाल सरकारले जेठ २–४ सम्म काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा भने मोदी नआउने जानकारी दिए । नेपाल सरकारले संवादमा मोदीलाई विशेष अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा पठाएको थियो ।
प्रधानमन्त्री ओलीसँग ‘साइडलाइन’ भेटवार्तामा मोदीले संवादमा आउन असमर्थता जनाएका हुन् । अघिल्लो कार्यकालमै ओलीले सगरमाथा संवाद कार्यक्रम आयोजनाको तयारी गरेका थिए । तर, कोभिडका कारण स्थगित भएको थियो । यस पटक उनले त्यसलाई पुनः बढाएका छन् । विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित विज्ञ र अनुसन्धानकर्तालाई बोलाएर अन्तर्राष्ट्रियस्तरको संवाद कार्यक्रम गर्ने सरकारको तयारी छ ।
भारतका प्रधानमन्त्री मोदी उक्त कार्यक्रममा आउने अपेक्षा सरकारले राखेको थियो । तर, थाइल्यान्डमा ओलीसँगको भेटमा मोदीले सगरमाथा संवाद कार्यक्रमको निर्धारित मितिमा आफ्नो युरोप भ्रमण पहिल्यै तय भएकाले काठमाडौं आउन नसक्ने जानकारी गराएका छन् ।
‘यसपल्ट सगरमाथा संवादमा मोदीजी आउन भ्यानुहुन्न । त्यही समयमा उहाँको पहिले नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ,’ काठमाडौं ओर्लिएपछि विमानस्थलमा प्रधानमन्त्री ओलीले भने, ‘उहाँको कार्यक्रम उता सेटल भइसकेको रहेछ । त्यसलाई बदल्न सक्ने अवस्था रहेन । त्यसकारण उहाँ आउन सक्नुहुन्न । तर, भारतको राम्रै स्तरबाट प्रतिनिधित्व हुन्छ ।’
ओली र मोदीबीच शुक्रबार थाइल्यान्डमा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई ओलीले फलदायी भनेका छन् । ‘भेट अत्यन्तै सुमधुर र राम्रो वातावरणमा भयो । हार्दिकताका साथ भयो,’ उनले भने, ‘फलदायी भयो । म खुसी छु । कुराकानीबाट मोदीजी पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’ पारस्परिक सहयोगका विभिन्न क्षेत्रबारेमा कुराकानी भएको उनले बताए । लगानी, व्यापार, पञ्चेश्वर परियोजना र दोधारा चाँदनीमा महाकालीबाट सिँचाइका सन्दर्भ थुप्रै विषयमा कुरकानी भएको उनले जनाएका छन् ।
भारत भ्रमण कहिले हुने सन्दर्भमा उनले आफूले भ्याएको बेला र भनेका बेला हुने बताएका छन् । ‘भारत भ्रमण असम्भव कुरा हो र ? कतिपय कारणले नभ्याइराखेको स्थिति हो । कहिले के काम पर्या हुन्छ । कहिले के ? त्यस्तो कारणले मात्रै हो,’ उनले भने, ‘भारत भ्रमणमा अवरोध भयो भन्ने बाहिर भन्या जस्तो होइन । काँडे तार लाग्या छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठीक ढंगले बुझ्दा हुन्छ ।’
विगतमा प्रधानमन्त्री बनेको केही महिनाभित्रै भारत भ्रमण भइहाल्ने अभ्यास थियो । तर, प्रधानमन्त्री बनेको ८ महिनासम्म पनि ओलीको भारत भ्रमण तय नहुनुलाई उनको भारतसँगको सम्बन्ध राम्रो नरहेको रूपमा टिप्पणी हुँदै आएको छ । ओलीले भने, ‘हामी अलिकति व्यस्त छौं । सगरमाथा संवादलगायतका विषयहरूले हो । त्यसो भएर हामीले भ्याउँछौं भन्यौं भने हुन पनि सक्छ ।’
ओली प्रधानमन्त्री भएपछि मोदीसँगको उनको दोस्रो भेटवार्ता भएको हो । तर, दुवै भेटघाट तेस्रो मुलुकमा भएको हो । यसअघि गत असोजमा न्युयोर्कमा भेटवार्ता भएको थियो । उनले त्यतिबेलाको भेटलाई नराम्रो भनिएकामा गुनासो गरेका छन् । ‘सेप्टेम्बरमा हामीबीच भेट भएको थियो । तपाईंहरूले भनेजस्तो कुनै नराम्रो भएको होइन । त्यस्तो केही होइन । नराम्रो केलाई भन्ने ? फ्रेन्डली कुराकानी भएको थियो । राम्रै भएको थियो,’ उनले भने, ‘यसपल्ट त्योभन्दा बढी अझ बढी मित्रतापूर्ण कुराकानी भएको छ ।’
कूटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्षपछि पहिलो पटक नेपालका प्रधानमन्त्रीबाट थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । त्यसक्रममा ओलीले थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङ तार्न सिनावात्रासँग भेटवार्ता र द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी गरेका थिए ।
नेपाल र थाइल्यान्डबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संसाधन विकासलगायत द्विपक्षीय सम्बन्धका विविध पक्षमा सहयोग र सहकार्य गर्ने कुराकानी भएको प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाल’ को राष्ट्रिय महत्त्वाकांक्षाको लक्ष्य प्राप्तिमा नेपाललाई थाइल्यान्ड सरकारको सक्दो सहयोग प्राप्त हुने प्रतिबद्धता थाई प्रधानमन्त्रीबाट गरेको उनले उल्लेख गरे । ओलीले चैत २२ मा छैटौं बिमस्टेक शिखर सम्मेलनलाई पनि सम्बोधन गरेका थिए । ओलीले आफ्नो सम्बोधनबाट बिमस्टेक राष्ट्रका समकक्षीलाई सगरमाथा संवाद कार्यक्रममा सहभागिताका लागि आमन्त्रणसमेत गरेका छन् ।
शिखर सम्मेलनकै क्रममा ओलीले भारतीय प्रधानमन्त्री मोदीबाहेक श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र म्यानमारका प्रधानमन्त्री मिन आङ ल्हाङ्गसँग पनि छुट्टाछुट्टै भेटघाट गरेका थिए । समग्रमा थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेकको शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल र सार्थक रहेको प्रधानमन्त्री ओलीले जनाएका छन् ।
