काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सरकारको एक्लो प्रयासले डढेलो नियन्त्रण नहुने बताएका छन् । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेसनल कन्फरेन्स-२०२५ को उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।
डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको मन्त्री शाहीको भनाइ छ । उनले भने , ‘नेपाल सरकारले डढेलोलाई गम्भीर रूपमा लिएको छ ’ ।
डढेलो न्यूनीकरणका लागि नेपाल सरकारले गरेर मात्र सम्भव नहुने उनले बताए । ‘वन तथा वातावरण मन्त्रालयले डढेलोलालाई एउटा महत्त्वपूर्ण विपद्का रुपमा लिएर काम गर्दै आएको छ,’ उनले भने ।
सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ७५३ वटै स्थानीय तहका प्रतिनिधि, उद्योग क्षेत्र तथा आगलागी र विद्युतीय सुरक्षाका विज्ञहरूको उपस्थिति रहेको छ ।
कार्यक्रममा चीन, भारत, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसिया, श्रीलङ्का, भियतनाम, हङकङ, इन्डोनेसिया, मकाउ, फिलिपिन्सलगायत १४ देशका विशेषज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। सहभागीहरूलाई अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र उत्कृष्ट अभ्यासहरूको जानकारी दिन विविध सत्र, प्रविधि प्रदर्शनी तथा अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
