शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : साउद

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

There should be no delay in addressing the legitimate demands of teachers: Saud

काठमाडौँ — नेपाली कांग्रेसका नेता एनपी साउदले शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

संघीय राजधानीमा जारी शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारसँग शिक्षकहरुका जायज माग पूरा गर्न आग्रह गरेका हुन् ।

'शिक्षा देशको समृद्धिको आधार हो, शिक्षाको सुधार विना मुलुकको प्रगति सम्भव छैन,' साउदले लेखेका छ्न्, 'सन्तुष्ट शिक्षकबाट मात्र गुणस्तरीय शिक्षाको सुनिश्चितता सम्भव छ । त्यसैले शिक्षक तथा कर्मचारीका समस्या समाधान गर्दै देशलाई समृद्धिको दिशातर्फ लैजान ढिला गर्नु हुन्न ।'

साउदले सामुदायिक शिक्षाको सुधार र शिक्षक–कर्मचारीका न्यायोचित मागबारे आफू सधैँ शिक्षकहरूसँग रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

शिक्षकहरू विद्यालय शिक्षा विधेयकका केही बुँदाहरूप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत छन् । उनीहरूले विधेयकमा सुधार नगरे सरकारसँग ठोस संघर्षमा जाने चेतावनी दिएका छन् ।

संघीय संसदको विषयगत समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल चलिरहेकाबेला विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका शिक्षकहरूका मागप्रति शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।

कान्तिपुर

Link copied successfully