काठमाडौँ — राजावादीको आन्दोलनमा अप्रत्यक्ष संलग्नलाई पनि कारबाही गर्न राज्यव्यवस्था समितिको निर्देशन, आफूमाथि राज्यको सम्पूर्ण शक्ति खनिएको कुलमान घिसिङको भनाइदेखि ट्रम्पको ट्यारिफले अमेरिकी सेयर बजारमा पहिरोसम्मका खबर आज चर्चामा रहे ।
०००
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्यान्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
०००
राजावादीको चैत १५ को प्रदर्शनमा अप्रत्यक्ष रूपमा संलग्न रहेकाहरूमाथि पनि आवश्यक छानबिन र कानुनी कारबाही अगाडि बढाउन प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।
०००
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन राज्यको सम्पूर्ण शक्ति खनिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुलमानले आफूलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै संसद्को रोस्ट्रम प्रयोग गरेको बताएका हुन् ।
०००
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमशस् ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्ड्याक कम्पोजिट पनि ६ प्रतिशतले खुम्चिएको छ ।
०००
दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक यओललाई पदमुक्त गरेको छ । गत डिसेम्बरमा सैनिक शासन घोषणापछि संसद्ले युन विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । त्योसँगै उनी निलम्बित भएका थिए ।
