'म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुने छैन'
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउन राज्यको सम्पूर्ण शक्ति खनिएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कुलमानले आफूलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै संसद्को रोस्ट्रम प्रयोग गरेको बताएका हुन् । उनको संकेत संसद्मा आफ्नो आलोचना गर्ने ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थियो ।
'नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खनिएको थियो ? कस्को स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो भन्ने विषयमा नेपाली जनता आफैं प्रस्ट हुनुहुन्छ । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरूले नै सार्वभौम संसद्को रोस्ट्रम कसरी सदुपयोग वा दुरुपयोग गरे ? नेपाली जनता आफै प्रत्यक्षदर्शी हुनुहुन्छ,' उनले भने ।
आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बिदा भए पनि नागरिकका रूपमा आफ्नो काम र कतर्व्य कहिल्यै नभुल्ने पनि उनले बताए । 'नेपाली जनताले दिएको स्नेह र आशिर्वादले मलाई हार्न दिएको छैन । म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्र बिदा भएको हुँ, एक जिम्मेवार नागरिकको रूपमा मेरो काम, कर्तव्य र अभिभारा कहिल्यै कम हुने छैन,' उनले भने ।
आफू सरकारको पछिल्लो कदमबाट उत्तेजित र हतोत्साही नभएको पनि उनको भनाइ छ । 'एक इमानदार राष्ट्रसेवकका रूपमा मैले आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम गरेको छैन, अवसर र अधिकारलाई सदुपयोग गर्ने एक क्षण पनि खेर फालेको छैन,' उनले भने ।
