संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं : अध्यक्ष राउत

चैत्र २२, २०८१

विद्यानन्द राम

We formed a front out of fear of federalism and loss of rights: President Raut

सप्तरी — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले यथास्थितिवादी र प्रतिगामी शक्तिबीच आन्दोलन चलिरहँदा संघीयता र अधिकार गुम्ने खतरा देखेर ‘संघीय लोकतान्त्रिक मोर्चा’ बनाउन बाध्य भएको बताएका छन् ।

शुक्रबार राजविराज नगरपालिका–१० दिघवास्थित ‘प्रादेशिक स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टर, कल सेन्टर र इन्नोभेसन सेन्टर’को भवन शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष राउतले संघीयताको बारेमा कसैले नबोल्ने गरेको आरोप लगाए ।

‘यथास्थितिवादी र प्रतिगामी गरी दुई वटा शक्तिबीच आन्दोलन चलिरहँदा हामीले पाएको अधिकार गुम्ने खतरा देख्यौं,’ उनले भने, ‘एउटा पक्षले गणतन्त्रलाई रक्षा गर्ने भन्छन् भने अर्कोले राजतन्त्र ल्याउने कुरा गर्छन् । तर संघीयताको विषय के हुने भनेर कसैले बोल्दैनन् ।’

संघीयता गुम्ने चिन्ताले पृथक् मोर्चा बनाएको उनले दाबी गरे । ‘संघीयतासँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशीतालगायतका अधिकार खोसिने चिन्ता लागेर नै पृथक् मोर्चा बनाउन बाध्य भयौं,’ उनले भने, ‘यो मोर्चा चुनावी प्रयोजनका लागि नभए पनि लामै जाने विश्वास छ ।’

१ करोड १७ लाख २६ हजार ३ सय १२ रुपैयाँको लागतमा सो स्पेस एन्ड कम्युनिकेसन रिसर्च सेन्टरको भवन निर्माण हुन लागेको हो ।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully