काठमाडौँ — अराजकता फैलाएर संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यले राजावादी समूहले तीनकुनेमा हिंसा भड्काएको गृहमन्त्री रमेश लेखकले बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताएका हुन् ।
आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको निर्वाध उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा सरकार थप क्रियाशील भई काम गर्ने गृहमन्त्रीको भनाइ छ ।
'घटनाक्रमलाई विश्लेषण गर्दा यो नियोजित रूपमा अराजकता फैलाउने आपराधिक तथा विध्वंशात्मक कार्य हो भन्ने कुरामा विवाद हुनै सक्दैन। आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ,' गृहमन्त्री लेखकले भने ।
लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा सञ्चारजगत रहन्छ भन्ने कुरा सञ्चारगृहमा खोजीखोजी भएको आक्रमणबाट समेत पुष्टि हुने उनले बताए । सरकार सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षामा संवेदनशील रहेको र पूर्णसूरक्षाको प्रबन्ध मिलाउने उनको प्रतिबद्धता छ ।
काठमाडौंको तिनकुनेमा शान्तिपूर्ण प्रदर्शन गर्ने भनी दुर्गा प्रसाईंको समूहले स्थानीय प्रशासनबाट अनुमति लिएका थियो । तर प्रसाईंले प्रहरीलाई नै आक्रमण गर्ने उद्देश्यले गाडी चलाएको पनि गृहमन्त्री लेखकको भनाइ छ । 'प्रदर्शनका क्रममा अगुवामध्येका एक निज दुर्गा प्रसाईं स्वयंले दिउँसो बा. प्र. ०१–०२८ च. ०२०१ नं. को गाडी हाँकी अश्लील शब्द प्रयोग गर्दै र भिडलाई उत्तेजित बनाउँदै सुरक्षाकर्मीहरूलाई किच्ने नियतकासाथ सुरक्षा घेरा तथा ब्यारिकेडमाथि बलपूर्वक गाडी हाँकेपछि माहोल बिग्रिन पुगेको थियो।” लेखकले भन्नुभयो–“उक्त घटना लगत्तै भिड उत्तेजित भई सुरक्षाकर्मीमाथि ढुंगामुढा र सिसाका बोतललगायतका वस्तु प्रहार गरेका थिए,' उनले भने ।
आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीबाट हरसम्भव प्रयास भए पनि आगो निभाउनका लागि आउँदै गरेको दमकल तथा सुरक्षा निकायको गाडिमाथि भिडले आक्रमण गरी अवरोध गरेकोले तत्काल आगो नियन्त्रण गर्न नसकिएको गृहमन्त्री लेखकले बताए ।
प्रतिनिधिसभा सदस्य धवल शमशेर राणासहित आपराधिक कार्यमा संलग्न १४८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले तीमध्ये ६६ जना व्यक्तिमाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको र अन्य ८९ जना व्यक्तिलाई परिवार एवम् आफन्तको जिम्मा लगाएर छाडिएको बताए ।
