तीनकुनेको घटनाले गणतन्त्र सुरक्षित छैन भन्ने देखियो, हामी सबै सतर्क हुनुपर्छ : अध्यक्ष केसी

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

The Three Corners incident showed that the republic is not safe, we all should be cautious: President KC

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रलाई जोगाउनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले तीनकुनेको घटनाले पनि गणतन्त्र सुरक्षित नरहेको देखिएको बताएका हुन् । 

तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत उनको भनाइ छ । उनले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए । आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्नेसमेत केसीले बताए ।

'गृह मन्त्रालयसँग यति नजिकको ठाउँ, सुरक्षा निकायको नजिकको ठाउँमा जुन खालको घटना घट्यो यो राम्रो भएन । सरकारले पीडितहरुलाई दिएको राहत राम्रै कुरा छ । तीनकुनेको घटनालाई हेर्ने हो भने लोकतन्त्र र गणतन्त्र सुरक्षित छैन । हामी सबै सतर्क हुनुपर्छ,' उनले भने ।

प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । 'अब म आफैं पनि आन्दोलनमा छु । मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न  । संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन,' उनले भने ।  

कान्तिपुर

Link copied successfully