वन मन्त्रालयले खारेज गर्‍यो १२ वटा निर्देशिका तथा कार्यविधि

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

The Ministry of Forests canceled 12 guidelines and procedures

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले १२ वटा निर्देशिका तथा कार्यविधि खारेज गरेको छ । मन्त्रालयले छ वटा निर्देशिका र छ वटा कार्यविधि खारेज गरेको हाे । 

विभिन्न मितिमा स्वीकृत भई कार्यान्वयनमा रहेका निर्देशिका तथा कार्यविधि खारेज गरिएको मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । चैत १७ मा गरिएको मन्त्रिपरिषद्को निर्णयअनुसार समय सापेक्षता, आवश्यकता तथा औचित्यको आधारमा निर्देशिका तथा कार्यविधि खारेज मन्त्रालयले जानकारी दिएको हो ।

खारेज गरिएको निर्देशिकाहरूमा सुनाखरी संकलन तथा खेती विकास (कार्यविधि) निर्देशिका, २०६९, जिल्ला वन क्षेत्र समन्वय समितिको गठन सञ्चालन निर्देशिका, २०६८, निजी वन विकास निर्देशिका, २०६८, गैरसरकारी सेवा प्रदायकबाट सेवा प्राप्ती सम्बन्धी निर्देशिका, २०६१, अनुसन्धान कार्यविधि, २०६९ र वन विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि निर्देशिका, २०६४ छन् । 

यसैगरी कार्यविधिहरूमा स्थानीय तहसँगको साझेदारीमा सहरी वन विकास कार्यक्रम कार्यविधि, २०७७, नमूना कृषिवन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७, वनजन्य उद्यम प्रवर्द्धन तथा विकासका लागि अनुदान सम्बन्धी कार्यविधि, २०७५, सामुदायिक वन अभियन्ता घोषणा तथा सम्मान वितरण कार्यविधि, २०७४, सुराखी खर्च परिचालन कार्यविधि, २०७२ र व्यवसायिक प्रयोजनको लागि कवुलियती वन उपलब्ध गराउने कार्यविधि, २०६८ रहेका छन् । 

कान्तिपुर

Link copied successfully