'यसमा छानबिन आयोग बन्छ कि बन्दैन ?'
काठमाडौँ — संघीय संसद्को प्रमुख प्रतिपक्ष माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चैत १५ मा राजावादीले तीनकुनेमा गरेको प्रदर्शनको मुख्य योजनाकार को हो भनेर गृहमन्त्रीलाई प्रश्न गरेका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा पाण्डेले राजतन्त्रवादीहरूको प्रदर्शनको मुख्य जिम्मेवारलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरेका हुन् । 'त्यो प्रदर्शनको मुख्य योजनाकार को हो ? को हो मुख्य योजनाकार, कसले लियो जिम्मेवारी ?,' पाण्डेले गृहमन्त्री रमेश लेखकलाई सोधे, 'राजावादी भनेर सबैलाई दोष लगाएर भएन । मुख्य योजनाकार को हो आउनुपर्छ ।'
उक्त प्रदर्शनका तथाकथित जनकमान्डर दुर्गा प्रसाईँले विगतमा दिएका अभिव्यक्तिका आधामा किन नियन्त्रण नगरेको भनेर पनि पाण्डेले प्रश्न गरेका थिए । प्रहरीमाथि गाडी कुदाउने प्रसाईंलाई तत्काल किन पक्राउ नगरेको र उनी भागेपछि योजना बनाइरहेको भन्ने अभिव्यक्ति सरकारका अधिकारीबाट आएको पाण्डेको भनाइ थियो ।
राजावादीहरूले गरेको तोडफोड, आगजनी र लुटपाटको घटनाको छानबिन गर्नका लागि छानबिन आयोग बन्छ कि बन्दैन भनेर पनि पाण्डेले गृहमन्त्रीलाई सोधेका छन् । 'बालकुमारी घटनामा त न्यायिक छानबिन आयोग बनेको थियो । यसमा छानबिन आयोग बन्छ कि बन्दैन ?,' उनले भने ।
त्यो प्रदर्शनमा संलग्न नभएका मान्छेमाथि गोली प्रहार भएको विषयमा पनि पाण्डेले जवाफ माग गरेका छन् । त्यहाँ बाहिरका मान्छेहरूलाई सहभागी हुनबाट किन रोकिएन भनेर उनले सोधेका छन् ।
समाजवादी मोर्चाको एउटा घटक एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आगजनी र क्षति सुरक्षाकर्मी समयमा आइनपुग्दा भएको हो कि भन्ने आफ्नो विश्लेषण रहेको पाण्डेले बताए ।
