बजाहा सागर नेपाल र भारतको उत्कृष्ट सिमसार क्षेत्र हो । यस आसपास सारसको मनै लोभ्याउने चहलपहल देखिन्छ । नेपालमा सबैभन्दा बढी सारस त्यहीँ देखिन्छ । सयदेखि डेढ सयको संख्यामा सधैंजसो देखिन्छ ।
कपिलवस्तु — नेपाल र भारतको सीमामा रहेको कपिलवस्तुस्थित बजाहा सागरलाई रामसार क्षेत्र (विश्व सिमसार क्षेत्र) बनाउन पहल थालिएको छ । यसका लागि दुई देशका अधिकारीले स्थलगत अवलोकन गरी छलफल थालेर काम अघि बढाएका छन् ।
बजाहा सागर दुवै देशको उत्कृष्ट सिमसार क्षेत्र हो । यस आसपास विश्वकै मनमोहक पन्छी सारसको मनै लोभ्याउने चहलपहल देखिन्छ । नेपालमा सबैभन्दा बढी सारस त्यहीँ देखिन्छ । एक सयदेखि डेढ सयको संख्यामा सधैंजसो देखिन्छ । प्रजननका बेला जेठ असारमा दुई सयदेखि ढाइ सयसम्म सारस देखिन्छ । दसगजा र सीमा क्षेत्रमा बस्छन् । कहिले नेपालतिर, कहिले भारततिर बस्छन् । तर, नेपालतिर राम्रो सिमसार क्षेत्र हुँदा प्राय नेपालतिर बस्छन् ।
सारसका लागि दुवै देशको उर्वरभूमि हो बजाहा सागर । सारसको संख्या देखेर चराविद् निक्कै उत्साहित हुन्छन् । ‘यो ठाउँको ल्यान्डस्केपिङ राम्रो छ,’ डब्लुडब्लुएफ नेपालका पार्टनरसिप प्रोग्राम प्रमुख राजेन्द्र सुवालले भने, ‘यहाँ सारसका लागि ताल, सिमसार, धाप, खेतबारी र आहारा राम्रो छ । कसैले मार्दैनन् । सुरक्षाको महसुस गर्दा भएर पनि सारस निधक्क यतै देखिए जस्तो लाग्छ ।’
बजाहामा प्रशस्त सारस पाइने कुरा कान्तिपुरबाटै थाहा पाएपछि नै यसलाई कसरी संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने भन्ने कुरामा योजना बनाउन आफूहरु लागेको सुवालले बताए । उनले भने, 'सीमा क्षेत्रको कुरा हो । यहाँको फरक खालको भौगोलिक अवस्था छ । पर्यापर्यटनको प्रचुर सम्भवना छ । एउटा देशले मात्र चाहेर हुँदैन । त्यसका लागि दुवै देश सहमत हुनु पर्छ । यो गार्हृौ काम हो ।'
तर, पनि नौलो र दक्षिण एसियाकै लागि पहिलो हुने हुँदा आफूले अभियान चलाएको इन्टरनेसनल क्रेन फाउण्डेसन, अमेरिकाका एसिया कार्यक्रम उपाध्यक्ष डा. महेन्द्र श्रेष्ठले बताए । ‘दुई देशको एउटै रामसार साइट दक्षिण एसियाभरि कहीँ छैन,’ उनले भने, ‘अभियानले सार्थकता पायो भने नयाँ इतिहास हुन्छ । त्यसैका लागि लागि परेका छौं ।’ हंग्रेरी र स्लोभाकियाका तथा बुल्गेरिया र रोमानियाका ३/३ वटा ट्रान्स बोर्डर रामसार साइट छन् । यसले दुवै मुलुकको पर्यापर्यटनको राम्रो विकास भएको उपाध्यक्ष श्रेष्ठले बताए । त्यस्तै, यहाँ पनि गर्न खोजिएको उनी बताउँछन् ।
यो ठाउँ दुई देशको सरोकारको विषय हो । एउटाले मात्र चाहेर हुँदैन । त्यसैले दुवै मुलुकका सरोकारवालालाई राखेर ३ दिने सारस संरक्षणमा इण्डो नेपाल ट्रान्स बोर्डर डाइलग गरिएको थियो । डब्लुडब्लुएफ नेपाल र इन्टरनेसनल क्रेन फाउण्डेसन(आईसीएफ) को सहयोगमा त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागद्वारा लुम्बिनीमा आयोजित कार्यक्रममा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरेका थिए ।
बजहा सागर आसपास अब सारससँगै कुन चरा, स्तनाधारी, वन्यजन्तु र वनस्पति पाइन्छ भनेर अध्ययन गरिने डब्लुडब्लुएफ नेपालका पार्टनरसिप प्रोग्राम प्रमुख राजेन्द्र सुवालले बताए । नेपालतिर नेपालका अधिकारी र भारततिर भारतका अधिकारीले अध्ययन गरेर फेरि छलफल गर्ने कुरा भएको उनले बताए । अब यसका बारेमा छलफल गर्दै अघि बढ्ने योजना बनाएको उनले बताए ।
बजाहा सागरको ७० प्रतिशत भाग भारतको सिद्धार्थनगर जिल्लामा पर्छ । ३० प्रतिशत भाग नेपालको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका पर्छ । भारततिर करिब एक सय ७० हेक्टर पर्छ । नेपालतिर ८० हेक्टर भूभाग पर्छ । सागरसँग नेपालतिर तुल्सीडिहवा गाउँ सटेको छ भने भारततिर बजाहा गाउँ सटेर रहेको छ । सागरबीचतिर ५५२/४७ नम्बरको सीमा स्तम्भ छ । यो सधैं पानीको डुबानमा पर्छ । तालका कारण चरालाई राम्रो वेटल्याण्ड बनेको छ ।
भारतले सिँचाइका लागि सागरमा बाँध बनाएको छ । वर्षाका बेला ३/४ महिना पानी बढी भएपनि अन्य बेला चरालाई उत्कृष्ट वातावरण हुन्छ । चारैतिर खाद्यान्नका बालीनाली र केही ठाउँमा जंगली धान फल्ने हुँदा आहारविहारको पनि समस्या नहुँदा चरा रमाउने गर्छन् ।
यहाँ सारस उन्मुक्त वातावरणमा रमाउँछन् । प्रजनन्का बेला उनीहरुको नृत्य गजबसँग हेर्न पाइन्छ । उनीहरुले गुड बनाउनेदेखि बचेरा हुर्काउँदासम्मका अद्वितीय दृश्य हेर्न अवसर पनि पाइन्छ । सारसका वात्सत्य प्रेम, माया र सद्भाव पनि उस्तै अवलोकन गर्न पाइने हुँदा पर्यटकका लागि मनोरमस्थल बनेको छ । सारसका मनमोहक चहलपल हेरेर सबै आह्लादित हुनेका लागि सर्वोत्कृष्टस्थल बनेको छ ।
दुवै देशका अधिकारीहरुले स्थलगत अवलोकन गरेर छलफल गर्दा सारसका लागि महत्त्वपूर्णस्थल भएको निष्कर्ष निकालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका इकोलोजिस्ट हरिभद्र आचार्यले बताए । 'यो चराका लागि आईबिए (ईम्पटेन्ट बर्ड एरिया) भएको प्रमाणित भयो,' उनले भने, 'अब त्यसको पहिचानका लागि काम गर्न पर्छ ।' यो क्षेत्रमा अध्ययन अनुसन्धान गरेर दुई देशीय सिमसार बनाउँदै अघि बढेर थप काम गर्न सकिने उनले बताए । नयाँ खालको काम गर्न पाउँदा आफू निकै उत्साहित भएको भारतको गुजरातमा सञ्चालित सारस विशेष संरक्षण कार्यक्रमकी निर्देशक डा. जीतेन्दर नौरले बताइन् । 'दुवै देशको ट्रान्स बाउन्ड्री क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा छलफल भयो,' उनले भनिन्, 'अब योजना बनाएर काम गनुपर्छ । दुई देशका संरक्षणकर्मीलाई यो नयाँ सिकाइ हुन्छ । यस्ले दक्षिण एसियाकै लागि नौलो काम हुन्छ ।'
‘सारस एकै ठाउँमा ठूला बथानै देखिनु राम्रो हो,’ चराविद् हठन चौधरी भन्छन्, ‘यसले त्यहाँको जैविक विविधता संरक्षण रहेको मानिन्छ ।’ जलवायु असरले विश्वव्यापी रुपमा चरालाई असर गरिरहेको देखाए पनि यहाँ भने पारिस्थितिकीय प्रणाली राम्रो रहेको देखाउने उनले बताए । त्यसले उक्त क्षेत्र आसपास बालीनानी उत्पादन बढाउँछ । 'ओथारो बस्ने ठाउँ राम्रो हुँदा अन्यत्रबाट पनि सारस यहाँ आउँदा बढेको हो,' उनले भने ।
बजाहा सगरलाई रामसार क्षेत्रमा सूचीकृत गराउने काममा डब्लुडब्लुएफ नेपाल सरकारसँग समन्वय गरिरहेको छ । डब्लुडब्लुएफ विश्वव्यापी संस्था हुँदा भारतसँग सहकार्य गर्न पनि सजिलो हुन्छ । भारत पनि डब्लुडब्लुएफ इण्डिया छ । भारततिर पनि समन्वय भइरहेको छ । यता स्रोत खोज्ने काम अमेरिकामा मुख्यालय रहेको इन्टरनेसनल क्रेन फाउण्डेसन(आईसीएफ)ले गरिरहेको छ ।
सारस संरक्षणका बारेमा दुई देशका अधिकारीबीच भएका सहमति र सहकार्यले सीमा क्षेत्रमा काम हुने हुँदा आफू निकै उत्साहित भएको युनिभर्सिटी अफ लखनउ भारतका वाईल्डलाइफ साइन्सेज विभाग निर्देशक प्रोफेसर डा. अमृता कनौजियाले बताइन् । तराई आर्क ल्यान्डस्केपमा दुई देशका अनुभव साटासाट गर्दै ट्रान्स बोर्डर क्षेत्रमा नयाँ काम अरुका लागि उदाहरणीय हुने उनले बताइन् ।
बौद्ध धर्मावलम्बीहरु यसलाई आस्थाका रुपमा हेर्छन् । त्यस्तै, वाल्मिकीकृत रामायणको आरम्भ पनि प्रयणरत सारस जोडीको वर्णनबाट सुरु भएको छ । सांस्कृतिक र धार्मिक महत्त्व पनि उत्तिकै छ । अग्लो र चित्ताकर्षक चराको बचेरासँग मनमोहक चलहपहल हेरेर आनन्दित हुनेका लागि बजाहा सागर उत्कृष्ट गन्तव्य बनेको छ ।
यिनीहरुले चिच्चाएर जनाउ सन्देश आवाज दिन्छन् । यो आवाज सम्पर्कको माध्यम हो । आवाजबाटै परपरका सारस एकत्रित हुन्छन् । कहिलेकाहीँ जोखिम हुँदा पनि आवाज दिएर सर्तकता अपनाउँछन् । नजिकै चितुवा, बाघ, भालु लगायत जन्तु आउन लागे पहिले कराएर अग्रिम जानकारी दिन्छ । यसले सम्भावित आक्रमणबाट बच्न सघाउँछ । पोथीले दुई वटा आवाज दिन्छ । भालेले एउटा मात्र दिन्छ ।
सारस महत्त्वकै कारण लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगर पन्क्षी र भारतको उत्तर प्रदेशको राज्य पन्क्षी बनाएको छ । सारस डेढ मिटर अग्लो, दुवै पखेटा फिँजायो भने ३ मिटर लामो बनाउँछ । ७ देखि ९ किलो तौलको हुन्छ । प्राकृतिक सिमसार भूमि वा पानी बाढीले भरिएको धान खेतमा गुँड लगाउँछन् । दुई वटासम्म अण्डा पार्छ । कहिलेकाहीँ ३ वटा पार्छ । बचेरा जन्मिनासाथ आफ्ना आमाबुबालाई पछ्याउन थाल्छन् ।
अहिले नेपालमा सारस ६ सय ९० वटा रहेको बताइन्छ । भारतमा भने पन्ध्र हजारदेखि २० हजार छ । अधिकांश उत्तर प्रदेशमा छन् । यो सर्वभक्षी (ओम्निभर) प्रजाति हो, यसले वनस्पति (बीउबीजन र तिनका जरा) र कीराफट्याङग्रा–गड्यौला खान्छ ।
अहिलेसम्म नेपाल भारतले बाघ, हात्ती र गैंडाका विषयमा छलफल र संरक्षणका कार्यक्रम गर्दै आएकामा पहिलो पटक सारस चराका विषयमा छलफल गरेर संरक्षणका काम एकीकृत रुपमा गर्ने सकारात्मक परिणाम निस्किएको त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक हरि शर्माले बताए । 'सारससँगै अन्य चराको पनि अध्ययन थालेर ट्रान्स बोर्डर वेटल्याण्ड बनाएर रामसार साइट बनाउन लाग्छौं,' उनले भने ।
सारस दुर्लभ चरा भएकाले नै वन्यजन्तु संरक्षण ऐन ०२९ ले संरक्षित गरेको ९ पन्क्षी प्रजातिमध्ये एक हो । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै ६ सयभन्दा बढी सारस भएको अनुमान छ ।
कम देखिन थालेपछि सन् २००० मा सारस विश्वकै दुर्लभ पन्छीमा सूचीकृत भएको थियो । सारसले सर्पलाई सजिलै आहारा बनाउँछ । त्यही भएर सारस बस्ने ठाउँ वरिपरी सर्पको त्रास हुँदैन । बालीलाई नोक्सान पुर्याउने शंखे लगायतका किरालाई सारसले खान्छ । त्यसले गर्दा बाली राम्ररी भइ उत्पादन बढ्छ । नजिकै चितुवा, बाघ, भालुलगायत जन्तु आउन लागे पहिले कराएर अग्रिम जानकारी दिन्छ । यसले सम्भावित आक्रमणबाट बच्न सघाउँछ ।
सारस बस्ने ठाउँ शुभ मानिने हुँदा बालीनाली धेरै फल्ने यशोधरा गाउँपालिका पोखरभिटवाका हनुमान पाण्डेले बताए ।
