रिमझिमकलीबाट १२ दिनअघि चितवन निकुञ्जनजिक हात्ती प्रजनन केन्द्रमा जन्मेको छावाको बुधबार न्वारन गरिएको हो
चितवन — पुरोहित रेशम पौडेल न्वारनको कर्मकाण्डका लागि बुधबार बिहानै चितवन निकुञ्जनजिक खोरसोरमा रहेको हात्ती प्रजनन तथा प्रशिक्षण केन्द्र पुगे । न्वारनको विधि पूरा गरेर राशि र नक्षत्र निकाले । त्यसपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले नाम जुराए, ‘दीपगज’ ।
गत चैत ८ को मध्यरात रिमझिमकलीले जन्माएको उक्त छावाको १२ औं दिनमा विधिपूर्वक न्वारन गरिएको हो । दीपगज खोरसोर हात्ती प्रजनन केन्द्रको ६६ औं छावा भएको केन्द्रका प्रमुख मनपुरन चौधरीले बताए । निकुञ्जको पश्चिम क्षेत्र सुखीभार पोस्टमा रहेका बेला दुई वर्षअघि रिमझिमकली ‘ध्रुवे’ हात्तीबाट गर्भवती भएको चौधरीले जानकारी दिए ।
भाले छावा भएमा नामका पछाडि गज या प्रसाद र पोथी भएमा कली या माला जोड्ने चलन छ । विधि पुर्याएर छावाको न्वारन गर्ने चलन पुरानै हो । पहिले छावा जन्मेपछि त्यसको जानकारी राष्ट्रिय निकुञ्ज विभागमार्फत राजदरबार पुर्याइने र नाम पनि उतैबाट तोकिएर आउने प्रचलन रहेको केन्द्रका पूर्वप्रमुख रामेश्वरप्रसाद चौधरीले बताए । ‘तर स्थानीय तवरमा नाम राख्ने अधिकार आएको धेरै भएको छैन,’ उनले भने, ‘दरबारले प्रायःजसो राजपरिवारका सदस्यको नाम राखेर पठाउँथ्यो ।’
०६२/६३ को जनआन्दोलनपछि यो क्रम टुटेको केन्द्रमा १९ वर्ष जागिर खाएर २०७० मा अवकाश पाएका चौधरीले जानकारी दिए । जनआन्दोलन सफल भएकै दिन २०६३ जेठ ११ मा खोरसोरमा जन्मिएकी छावाले पहिलो पटक स्थानीय तवरमै ‘लोकतन्त्रकली’ नाम पाएपछि न्वारनको नयाँ परम्परा सुरु भएको थियो । नाम तोक्ने चलन नयाँ बसे पनि न्वारनका अन्य कर्मकाण्ड भने यथावतै छ ।
न्वारन सकिएपछि माहुते रामदयाल चौधरीले रिमझिमकलीलाई ‘थान’ बाट फुकाए । पछुवा दिलीप महतो रिमझिमकलीको ढाडमा चढे, रामदयालले दीपगजलाई सम्हाल्दै अगाडि बढाए । ‘थान’ छाडेर जंगलतर्फ बढेको रिमझिमकलीको पाइला दीपगजले धेरैबेर अलमलायो । जंगल आडैआड केहीबेर हिँडेर रिमझिमकली खोरसोरको बूढी राप्ती खोलामा पौडिन पुग्यो । सुँढले पानी फालेर ज्यान भिजायो । पहिलो पटक पानीमा पाइला राखेको दीपगज आमाको यो गतिविधि नियाल्दै बस्यो ।
सुत्केरी हात्तीलाई छावाको न्वारन भएपछि मात्र बाँध्न बनाइएका किला ‘थान’ बाट बाहिर निकालिने चलन रहेको माहुते रामदयालले बताए । भने, ‘त्यसपछि नै आमासँगै छावालाई बाहिर हिँड्न सिकाउने तालिम सुरु हुन्छ । त्योभन्दा अघि माहुते र पछुवाले रातदिन कुरेर स्याहार गर्छन् ।’ छावा दुई वर्ष पुगेपछि तीन वर्षसम्म तालिम दिइने बताउँदै केन्द्रका प्रमुख मनपुरनले थपे, ‘तालिम पूरा भएपछि निकुञ्जको पोस्टमा खटाइन्छ ।’
सरदर एक क्विन्टल तौलका हुने नवजात छावा त्यसको आधा घण्टाभित्रै उभिन थाल्ने र जन्मेको डेढ घण्टाभित्रै हिँड्न सक्ने भए पनि न्वारनअघि धेरै पर जान पाउँदैन ।
२०४३ मा स्थापना भएको खोरसोरको हात्ती प्रजनन केन्द्रमा जन्मेका छावामा दीपगज ६६ औं छावा भएको केन्द्रका प्रमुख मनपुरन चौधरीले जनाए । २०५४ देखि नै यस केन्द्रमा छावा जन्मन थाले ।
छावाले तीन महिनासम्म आमाको दूध मात्र खान्छ । तीन महिनापछि अलिअलि घाँस टिप्न सुरु गर्ने माहुते रामदयालले बताए । सुत्केरी हात्तीलाई चना, भेली, ज्वानो, मेथी सात किलो चामलमा पकाएर खिर बनाएर खुवाउने उनले बताए । हात्तीको दैनिक खान्की दुई क्विन्टल घाँस र दुई सय लिटर पानी हो । प्रजनन केन्द्रका हात्तीलाई दैनिक डेढ किलो भेली, सवा किलो चना, २५ ग्राम नुन र १५ केजी धान घाँसमा कुची (ढल्लो पारेर) बनाएर खुवाउने गरिएको माहुते रामदयाल बताउँछन् ।
