काठमाडौँ — राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा ३०-४० जनाका झुण्ड भएर आगजनी र लुटपाट गरिएको नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा महानिरीक्षक थापाले शान्तिपूर्ण कार्यक्रम गर्ने भनेर अनुमति लिएको तर अराजकता मच्चाएको बताए ।
शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर अनुमति मागेपछि सोहीअनुसारको सुरक्षा रणनीति अपनाइएको थापाले जानकारी दिए । तर, त्यो कार्यक्रमको सुरुवातमै अराजकता मच्चाउन लागिएको पनि थापाले जानकारी दिए । 'शान्तिपूर्वक कार्यक्रम गर्छौं भनेर रुट र भेन्यू समेत लिएका थिए । समाजवादी मोर्चाको पनि कार्यक्रम रहेकाले कुनै पनि झडप नहोस् भनेर सुरक्षा रणनीति बनाइएको थियो,' थापाले भने, 'राजावादी जुन आन्दोलन भनिएको छ त्यसमा ३९ भन्दा बढी समूह छन् । सानासाना जुलुस निकालिए र मञ्च पनि बनाएको छ । त्यसअनुसार सुरक्षा दियौं । शान्तिपूर्वक गर्छौं भनेर गरिएको प्रदर्शन भीड, हिंसा, लुटपाट, तोडफोड, आगजनीमा उत्रियो । त्यसपछि हाम्रो रणनीतिअनुसार अगाडि बढ्न केही असहज भयो ।'
उक्त प्रदर्शनमा सुनियोजित रूपमा निश्चित संख्याका व्यक्तिहरूको समूह बनाएर लुटपाट र तोडफोड तथा आगजनी गरिएको थापाले बताए । 'कार्यक्रम सुरु हुनु पहिले नै झडप भयो र मञ्चमा बसेर उत्तेजक भाषण पनि भइराखेको थियो । झुन्ड-झुन्ड थियो । ३०-४० जनाको झुन्ड भएर यहाँ हान, यहाँ हान भनिरहेका थिए । अराजक झुन्डमा गएर आगजनी, लुटपाट गरिएको छ ।'
उक्त घटनाको स्थिति ४ घण्टामा नियन्त्रणमा लिइएको पनि महानिरीक्षक थापाले बताए । कर्फ्यु लगाएर स्थिति नियन्त्रणमा लिइएको उनले जानकारी दिए । तीनकुनेको घटनामा राज्यविरुद्धको अपराध र संगठित अपराध तथा आपराधिक उपद्रोमा मुद्दा दर्ता गरिएको थापाले जानकारी दिए । राज्यविरुद्धको अपराध र संगठित अपराधमा संलग्न भएका २० जनालाई पक्राउ गरिएको र अन्य ५८ जनालाई आपराधिक उपद्रोमा पक्राउ गरेर म्याद थप गरिएको थापाले जानकारी दिए । उक्त घटनामा संलग्नमा रहेकाहरूलाई अनुसन्धानको दायरामा ल्याइने पनि थापाले बताए ।
उक्त प्रदर्शनका क्रममा पत्रकार रहेको घरमा आगो लगाइएको थियो । उक्त आगलागीमा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर सविन महर्जनको मृत्यु भएको थियो ।
जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरिएको थियो भने सञ्चार गृहमा ढुंगामुढासहित आगजनीको प्रयास गरिएको थियो । भाटभटेनीमा लुटपाट र तोडफोड गरिएको थियो ।
