मेहनतबाटै देश निर्माण हुन्छ : सांसद महत

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

A country is built through hard work: MP Mahat

काठमाडौँ — नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मेहनतबाटै देश निर्माण सम्भव हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले राजनीतिक वृत्तमै पनि मेहनतको खाँचो रहेको उल्लेख गरे।

उनले सरकारी तथा गैरसरकारी क्षेत्र दुबैमा इमान्दारिता र मेहनत आवश्यक रहेको धारणा राखे । साथै, सत्तामा रहे पनि नरहे पनि नेपाली कांग्रेसले सहीलाई सही र गलतलाई गलत भन्ने नीति अख्तियार गर्ने उल्लेख गरे ।

सांसद महतले सजिलो हुँदा मात्रै अघि बढ्ने र असहज अवस्थामा पन्छिने राजनीतिक दलहरूले अधिकारको रक्षा गर्न नसक्ने बताए ।

‘मेहनतबाटै देश निर्माण हुन्छ। राजनीतिक तहमा पनि मेहनतको खाँचो छ। इमान्दारिता (अनेस्टी) को खाँचो छ। गैरसरकारी क्षेत्र—निजी क्षेत्र—मा पनि मेहनत र इमान्दारिता चाहिन्छ। जहाँ काम गर्छौं, त्यो मेरो जिम्मेवारी हो भनेर गर्नुपर्छ। मेहनत गरौं, र अधिकारबारे खबरदारी पनि गरौं,’ उनले भने ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहनुभएका सांसद महतले वित्तीय संस्था सम्बन्धी विषयहरूमा पनि गम्भीरतापूर्वक ध्यान दिइरहेको बताए ।

वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, जनताको अपेक्षा अनुसार सेवा सुविधा उपलब्ध गराउन सक्नुपर्नेमा उनले जोड दिए ।

कान्तिपुर

Link copied successfully