आज देश दुनियाँमा के-के भयो ?

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, तीनकुने घटना छानबिनका लागि राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामादेखि ट्रम्पले घोषणा गरे नयाँ आयात शुल्क, नेपाली सामानलाई १० प्रतिशतसम्मका खबर आज चर्चामा रहे । 

०००

आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । गत आर्थिक वर्ष २०२३/२४ को तुलनामा यो बढी हो । गत आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । 

०००

चैत १५ गते तीनकुनेको घटना छानबिनका लागि राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै राप्रपाले निष्पक्ष छानबिनको माग गरेको हो ।  

०००

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिएन । घिसिङले दायर गरेको रिटमा बिहीबार सर्वोच्चले अन्तरिम आदेश नहुने जनाएको हो ।  

०००

नेपाल यू–१९ पहिलो युथ एकदिवसीय क्रिकेटमा बिहीबार अफगानिस्तान यू–१९ सँग १ सय ३० रनले पराजित भएको छ । ३ सय १ रनको विशाल लक्ष्य लिएर आएको नेपाल ४६।२ ओभरमा १ सय ७० रनले अलआउट भयो । 

०००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रने सबै सामानहरूमा नयाँ आयात शुल्क घोषणा गरेका छन् । ट्रम्पको नयाँ घोषणामा १ सय ८५ देश तथा क्षेत्रलाई निसाना बनाइएको छ । करिब ९० देशबाट हुने आयातमा अमेरिकाले जवाफी कर लगाउनेछ भने अन्य देशबाट हुने सबै आयातमा १० प्रतिशत कर लाग्नेछ । ट्रम्पका अनुसार अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको भन्सार महसुलको करिब ५० प्रतिशत भन्सार महसुल लगाउनेछ । 

कान्तिपुर

Link copied successfully