राजावादी प्रदर्शनको हिंसा प्रकरण : नागरिक प्रथम अभियानले गर्‍यो निष्पक्ष न्यायिक छानबिनको माग

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

The violence case of the royalist demonstration: Citizens First Campaign demanded a fair judicial investigation

काठमाडौँ — नागरिक प्रथम अभियानले चैत्र १५ तीनकुनेमा भएको घटनामा राजावादी र सरकार दुवै जिम्मेवार रहेको निष्कर्ष निकालेको छ । अभियानका प्रवक्ता प्रशान्त सिंहद्वारा बिहीबार जारी प्रेस वक्तव्यमा नेपालमा भइरहेको राजनीतिक अस्थिरता र निराशाजनक राष्ट्रिय परिवेशको कडा आलोचना गर्दै तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनमा भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटको निष्पक्ष न्यायिक छानबिनको माग गरिएको छ ।

वक्तव्यमा कांग्रेस र एमालेको गठबन्धन सरकारको गतिहीनता र सत्तारुढ र विपक्षी दलहरूको व्यवहारका कारण उत्पन्न भएको राजनीतिक संकट र अन्योलप्रति चिन्ता व्यक्त गरिएको छ। साथै, सडकमा भइरहेको कथित राजावादी प्रदर्शनको जटिलता र यसले नागरिक जीवनमा थप नकारात्मक असर गरेको भन्दै नागरिकको जीवन सहज र समृद्ध बनाउन जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरिएको छ।


प्रेस वक्तव्यमा भनिएको छ, 'प्रदर्शनका क्रममा सविन महर्जन र पत्रकार सुरेश रजक जस्ता निर्दोष नागरिकहरूको असामयिक मृत्युले राज्य र प्रदर्शनकारीबीचको गैरजिम्मेवार टकराबको परिणाम देखाउँछ। हामी मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।'


विज्ञप्तिमा भनिएको छ, 'सरकार र प्रदर्शनकारी कहाँ चुके र दोषी को हुन् ? यी प्रश्नहरूको जवाफ खोज्नु आम नागरिकको अधिकार हो । अतः हामी समग्र परिस्थितिको निष्पक्ष, स्वतन्त्र र तटस्थ छानबिन गर्न न्यायिक आयोग गठन गरियोस् भन्ने माग गर्दछौँ । आयोगको प्रतिवेदनअनुसार दोषीलाई यथोचित कारबाही र नागरिक क्षतिको क्षतिपूर्ति दिइयोस् । उप्रान्त लोकतन्त्र र नागरिक अधिकारलाई कहीँ कतैबाट पनि कुण्ठित गर्ने प्रयत्न नहोस् ।'

अभियानले नागरिकतन्त्र र उन्नत लोकतन्त्रको आवश्यकता र यथास्थितिवाद र प्रतिगमनको चक्रब्युह तोडेर एकताको पक्षमा सबै नागरिकलाई आवाज उठाउन आग्रह गरेको छ।


वक्तव्यमा भनिएको छ, 'अतः विद्यमान यथास्थितिवाद र प्रतिगमनको चक्रब्युह तोडेर लोकतन्त्रलाई सबल, गहिरो र विस्तारित गर्नु नै आजका लागि हरेक नागरिकको मुख्य अभीष्ट र जिम्मेवारी भएको छ । यो अर्थमा, हामी सार्वभौम नागरिक ‘प्रतिगामी’ र ‘यथास्थितिवादी’ दुवै खाले भ्रमबाट मुक्त भई ‘अग्रगामी सुधार’ र ‘उन्नत लोकतन्त्र’ को तेस्रो विकल्पमा अग्रसर र एकताबद्ध हुन आवश्यक छ । यसका लागि बृहत् नागरिक आन्दोलनको पहलकदमी र सहकार्यका लागि आआफ्नो ठाउँबाट क्रियाशील हुन हामी सबैमा हार्दिक अपिल गर्दछौँ  ।'

कान्तिपुर संवाददाता

Link copied successfully