अमेरिकाबाट पीएचडी : कांग्रेस र रास्वपापछि राजावादी, हिंसा र लुटपाटको आरोप

चैत्र २१, २०८१

डम्बरसिं राई

Ph.D. from America : Allegations of Monarchism, Violence and Looting after Congress and RSVP

खोटाङ — राजा फर्काउने आन्दोलनमा सहभागी भएर पक्राउ परेका राजकुमार राई यतिखेर चर्चामा छन् । उनी सुरुमा कांग्रेस, त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी र फेरि रास्वपा छाडेर राजा फर्काउने आन्दोलनमा सहभागी भएका थिए । 

दुई जनाको ज्यान जाने गरी आन्दोलनकारीलाई उक्साएको, भाटभटेनी लुटपाटमासमेत संलग्न रहेको आरोप खेपिरहेका राई पछिल्लो समय रास्वपाबाट अलग्गिएको रास्वपाका युवा नेता आशिष थापाले बताए ।

‘गत पुसमा भएको जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएपछि पार्टीसँग टाढा हुनु भएको थियो, काठमाडौंको आन्दोलन हुने बेला आफू राजा फर्काउने आन्दोलनमा लागेको जानकारी गराउनु भएको थियो,’थापाले भने ।

थापाका अनुसार राईले पुस १३ गते भएको जिल्ला अधिवेशनमा ६ मत ल्याएर जिल्ला अध्यक्ष पदमा पराजित भएका थिए । मुकुन्दकृष्ण थापाले २६ मत ल्याए अध्यक्षमा र विजयी भएका थिए । 

रास्वपा हुन अघि कांग्रेसमा क्रियाशील थिए । २०७२ सालमा महाधिवेशन प्रतिनिधिमा विजयी राई २०७८ मा भएको सातौं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएको खोटाङ कांग्रेस सभापति विष्णुकुमार राईले बताए । त्यसपछि २०७९ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बेलासम्म सक्रिय भूमिका निर्वाह गरेका राई रास्वपाको जिल्ला अध्यक्ष हुने होडबाजीका साथ उक्त पार्टीमा प्रवेश गरेका थिए ।

‘२०७२ सालमा महाधिवेशन प्रतिनिधि जित्नु भयो, २०७८ सालमा महाधिवेशन प्रतिनिधि हार्नु भयो,’ राईले भने, ‘२०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा समेत सक्रिय हुनुहुन्थ्यो, त्यसपछि किन हो रास्वपा हुनु भयो ।’

रावाबेसी गाउँपालिका-१ कुभिण्डे निवासी राईले अमेरिकाबाट पीएचडी गरेका हुन् । २०५२/५३ सालताका अमेरिका छिरेका राई पीएचडी सकेर फर्किएपछि २०६६/६७ सालताका कांग्रेसको राजनीतिमा क्रियाशील भएको खोटाङ कांग्रेस प्रवक्ता रोजन राईले सुनाए । ‘२०५२/५३ सालतिर अमेरिका जानु भयो,’ राईले भने, ‘पीएचडी सकेर फर्किएपछि २०६६/६७ तिर कांग्रेस राजनीतिमा क्रियाशील हुनु भएको हो ।’ 

प्रदर्शनमा प्रहरीले पक्राउ गरेकामध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully