नेपाल र थाइल्यान्डबीच ६ समझदारी

सम्झौता र भ्रमणले दुई देशबीचको कूटनीतिक र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ पार्ने नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ

चैत्र २१, २०८१

राजेश मिश्र

6 agreements between Nepal and Thailand

काठमाडौँ — नेपाल र थाइल्यान्ड सरकारबीच सांस्कृतिक र पर्यटन सहयोगसम्बन्धी अलगअलग दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसबाहेक गैरसरकारी पक्षबीच विभिन्न ६ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा बुधबार सरकारी र गैरसरकारी गरेर दुई पक्षबीच कुल ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । बिमस्टेक शिखर सम्मेलनमा भाग लिनुपूर्व प्रधानमन्त्री ओलीले थाइल्यान्ड सरकारको निमन्त्रणामा औपचारिक भ्रमण गरेका हुन् । प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री पाइतोङ तार्न सिनावात्राबीच द्विपक्षीय भेटवार्ता भएको छ । 

त्यस्तै, थाइल्यान्डका नरेश बजिरालोङर्नसँग पनि प्रधानमन्त्री ओलीले शिष्टाचार भेटवार्ता गरेका छन् । बैंककस्थित एम्फोर्न राजदरबारमा नरेशसँग भेट भएको हो । दुई देशबीच पर्यटन, संस्कृति, आर्थिक, व्यापार र उड्डयनलगायतका बहुपक्षीय मुद्दामा सहकार्यका विषयमा प्रधानमन्त्री तहमा कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव कृष्ण ढकालले जानकारी दिए । 

सिनावात्रासँगको भेटपछि बैंककमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणका क्रममा संस्कृति, पर्यटन, शिक्षा, ऊर्जासहितका क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे । थाइल्यान्डसँगको ६५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध रहे पनि नेपालका तर्फबाट पहिलो औपचारिक भ्रमण आफूले गर्न पाएकामा सम्मानित महसुस गरेको उनको भनाइ थियो ।

दुई देशबीचको कूटनीतिक र जनता–जनताबीचको सम्बन्धलाई आफ्नो भ्रमणले थप सुदृढ पार्ने उनले उल्लेख गरे । नेपालको पर्यटन, होटल व्यवसाय र उड्डयन सेवामा थाइल्यान्डको लगानीको आशा पनि उनले व्यक्त गरे । उनले थाई लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आमन्त्रित गरेका छन् । 

पत्रकार सम्मेलनमा थाइल्यान्डका प्रधानमन्त्री सिनावात्राले नेपालको पर्यटन र उड्डन क्षेत्रमा लगानी वृद्धि हुने प्रतिबद्धता जनाएकी थिइन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र काठमाडौंमा थाई एयरलाइन्सको उडान संख्या वृद्धि गर्न सकारात्मक रहेको उल्लेख गरिन् ।

कूटनीति सम्बन्ध विस्तार भएको ६५ वर्षपछि नेपालका प्रधानमन्त्रीको पहिलो ऐतिहासिक भ्रमण भएकामा खुसी व्यक्त गरेकी थिइन् । नेपालसँगको सम्बन्ध सुदृढ पार्न बिमस्टेकमार्फत पनि मिलेर काम गर्न प्रतिबद्ध रहेकोमा जोड दिएकी थिइन् । नेपालको ऊर्जा, होटल, हवाई र पर्यटनसहितको क्षेत्रमा थाइल्यान्डको लगानी र व्यापार आगामी दिनमा प्राथमिकता पाउने विश्वास उनले व्यक्त गरिन् । 

थाइल्यान्ड सरकारको जनसम्पर्क विभागका अनुसार दुई नेताहरूबीच व्यापार, लगानी, कृषि, स्वास्थ्य सेवा, पर्यटन र सेवा उद्योगमा सहयोग अभिवद्धि गर्ने विषयमा छलफल भएको थियो । नेपालसँग भइरहेको ४० मिलियन अमेरिकन डलरको व्यापारको मात्रालाई आगामी दिनमा बढाउँदै लैजाने सम्भावनालाई ध्यानमा राखिने उनको भनाइ थियो ।

थाई व्यवसायीहरूलाई नेपालको बजारमा प्रवेश गर्न प्रोत्साहित गरिने उनले बताइन् । आगामी दिनमा पर्यटन र चिकित्साबाहेक आध्यात्मिक क्षेत्रको सहकार्यलाई पनि बढाइने लक्ष्य दुवै नेताले राखेको संयुक्त पत्रकार सम्मेलनमा उनको भनाइ थियो । ती विषयसँग सम्बन्धित विभिन्न ८ वटा सम्झौताहरूमा भएको हस्ताक्षरका साक्षी पनि दुई देशका प्रधानमन्त्रीहरू रहेका थिए । संस्कृति सहयोगसम्बन्धी समझदारीपत्रमा परराष्ट्रमन्त्री आरजु राणा देउवा र थाई संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसालले हस्ताक्षर गरे । 

त्यस्तै, देउवा र थाई पर्यटन तथा खेलकुदमन्त्री सोरावोङले पर्यटन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । त्यसबाहेक गैरसरकारी क्षेत्रमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, काठमाडौं विश्वविद्यालय, नेपाल नेत्र ज्योति संघले थाइल्यान्डका विभिन्न गैरसरकारी क्षेत्रसँग अलगअलग सम्झौता गरेका छन् ।

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully