उनी यसअघि पनि रक्तचन्दनदेखि अवैध सुन तस्करी र हुन्डीमा मुछिएका व्यक्ति हुन् ।
काठमाडौँ — रसुवाको केरुङ नाका हुँदै अवैध रूपमा चीन पठाउन लागिएको २५ करोड बराबरको विदेशी मुद्रा युरो र डलरका मालिक सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेसँगै उनको पृष्ठभूमिबारे चासो उब्जिएको छ ।
पौडेलको स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हो । अहिले टोखा नगरपालिका-१० महादेवटारमा बस्ने उनी यसअघि पनि रक्तचन्दनदेखि अवैध सुन तस्करी र हुन्डीमा मुछिएका व्यक्ति हुन् ।
कपडा किन्न भन्दै रसुवाको केरुङ नाका भएर चीन जाँदै गरेको ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स सिलिङ बनाएर लुकाएको अवैध रकमसहित चालक 'फुच्चे' भनिने कुसाङ लामालाई प्रहरीले पक्राउ गरेको थियो । राजश्वसँग सम्बन्धित भएपछि यो मुद्दाको अनुसन्धानको जिम्मा प्रहरीबाट राजश्व अनुसन्धान विभागमा पुगेको थियो ।
राजश्व अनुसन्धान विभागले चालक लामाको मोबाइलबाट प्राप्त विवरण, गाडीको लोकेसन र अन्य स्रोतबाट प्राप्त सूचनाका आधारमा रकमका मुख्य मालिक पौडेल भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । राजश्वका महानिर्देशक चण्डीप्रसाद घिमिरेले भने, ‘पौडेललाइ पक्राउ गर्न आईतबार नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।’
कोदारी राजमार्गको झिर्पु गाउँका नारायणलाई चिन्ने स्थानीयहरू उनी २०५० सालदेखि नै ढुवानी व्यवसायमा लागेको र यही काम गर्दा गर्दै उनी तस्करी धन्दामा लागेको बताउँछन् । नारायणको झिर्पु गाउँबाट चीन छिर्ने तातोपानी नाका १२ किलोमिटरको हाराहारीमा पर्छ । उनलाई नाकाको छेवैमा घर भएका कारण पनि उनलाई सीमावारपारको काममा लाग्न सजिलो भएको र यही काममा लाग्दा लाग्दै अवैध धन्दातिर लागेको स्थानीय बताउँछन् ।
नारायणको नाम यसअघि पनि पटक-पटक रक्तचन्दन, हुन्डी र सुन तस्करीमा मुछिएको विगत भेटिन्छ । चार दाजुभाइमध्येका साइँलो नारायण मात्रै होईन, उनक कान्छा भाइ राजकुमार पौडेल पनि यसअघि सुन तस्करीमा मुछिएका थिए । राजकुमार २०७४ सालमा भोटेकोशी गाउँपालिका प्रमुख माओवादीबाट स्थानीय तहको निर्वाचमा उठेर निर्वाचित भएका थिए । २०७९ सालमा पनि उनी माओवादीबाटै उम्मेदवार बने पनि हार बेहोरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार राजकुमार १५ किलो अवैध सुन तस्करीमा मुछिएका थिए । सामाखुशीबाट ग्रान्डी हस्पिटल जाने बाटोमा पर्ने एक घरबाट बरामद भएको सुनमा राजकुमार मुछिएका थिए ।
नारायणका जेठा दाइ ध्रुव भने २०५४ सालमै गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनका माइला दाइ बच्चु पौडेल भने यसअघि हिमालय व्यापार संघको पूर्वअध्यक्ष थिए भने उनी अहिले हाइड्रो व्यवसायमा संग्लनमा छन् । यसरी हेर्दा नारायणको सिंगो परिवार नै राजनीतिक र आर्थिक रूपमा बलियो देखिन्छ । नारायणलाई चिन्ने एक स्थानीयले भने, ‘यो परिवारकै सम्बन्ध अवैध धन्दासँग बेलाबखत जोडिने नयाँ कुरा भएन ।’
राजश्व स्रोतका अनुसार २०५९ सालमा पनि पौडेल हङकङमा अवैध रकम तस्करीको आरोपमा पक्राउ परेका थिए । २०८० असारको पहिलो साता भने उनी प्रहरी वृत्त महाराजगन्जबाट पौडेललाई जुवाको खालबाट समेत पक्राउ गरेको थियो ।
नारायणको सबै दाजुभाइलाई चिन्ने सिन्धुपाल्चोकका एक व्यवसायीले त्यतिका धेरै रकम नारायण एक्लैको हुनसक्नेमा आशंका व्यक्त गरे । उनले भने, ‘नारायण धेरै नाफा हुने अवैध कारोबारमा बिचौलिया बनेर काम गर्ने मान्छे हो । यो केसमा पनि त्यस्तै हुनसक्छ ।’ यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरीले भने नारायणले अरु कसैका लागि काम गरेको र रकम संकलनदेखि चीन पुर्याउनेसम्मको कममा हिस्सा नै लिएर काम गरेको हुनसक्ने बताउँछन् । नारायणको गाउँ अर्थात भोटेकोशी गाउँपालिका-४ का वडाध्यक्ष टासी शेर्पाले नारायण आठ दस वर्षदेखि नै काठमाडौंतिरै रहेको बताउँदै आफूले उनी काठमाडौंतिरै जग्गाको कारोबारमा लागेका छन भन्ने सुनेको बताए ।
राजश्वले कुन्साङबाट र अन्य स्रोतबाट प्राप्त विवरणका आधारमा टोखास्थित पौडेलको घरमा खानतलासी पनि गरेको थियो । पौडेललाई चिन्ने स्थानीय नारायण लामो समयदेखि काठमाडौंतिरै बस्ने गरेको र बेलाबखत गाउँतिर देखिने गरेको बताए । प्रहरी सूत्रका अनुसार टोखाबाट अवैध विदेशी मुद्रा बोकेको ट्रक समातिएलगत्तै नारायणको फोन स्विच अफ भएको देखिन्छ । त्यसैले उनी नेपालभित्र छन् वा सीमा नाघेर गइसके भन्नेमा अनुसन्धान अधिकारी यकिन हुन सकिरहेको देखिन्न् । एक प्रहरी अधिकारीले भने, ‘अपराधसँग जोडिएको विगत भएकाले पनि उनी यस्ता कुरामा चलाख देखिन्छन् ।’
