गृहमन्त्रीले शुक्रबार तीनकुने घटनाबारे राज्य व्यवस्था समिति बैठकमा जवाफ दिने

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

The Home Minister will give an answer in the state order committee meeting about the Tinkune incident on Friday

काठमाडौँ — राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनका क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्रीको जवाफ माग गरेका थिए। राजावादी समूहको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रबारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।


माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको गम्भीर त्रुटि रहेको भन्दै गृहमन्त्रीले नै जवाफ दिनुपर्ने बताए। प्रदर्शनलाई नियन्त्रण गर्न सक्ने स्थिति हुँदाहुँदै पनि सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रणबाहिर गएको उनको ठहर छ।


उनले भने, 'जहाँसम्म १५ गतेको घटना हो, सरकारले ठिक गरेन नि त। आफ्नै प्रहरीले घेरा हालेको बेला चाहिँ समात्न नसक्ने? अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने? कसले पत्याउँछ यस्तो कुरा? यसका लागि माननीय गृहमन्त्रीज्यूलाई बोलाउनुपर्छ र जवाफ माग्नुपर्छ।'


उनले आन्दोलनका कमान्डर दुर्गा प्रसाईँलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिए। प्रहरीले घेरा हालेको बेला किन नसमातेको भन्दै प्रश्न पनि उठाए।

कान्तिपुर

Link copied successfully