साल माँस्ने प्रपञ्च बाहिरिँदा राजीनामा दिन बाध्य भए सुदूरपश्चिमका वनमन्त्री

कार्यविधि बनाएरै सालका रूख माँस्न सुदूरपश्चिमका वनमन्त्री लक्ष्मणकिशोर चौधरीले आर्थिक लेनदेनको सरसल्लाह गरिरहेको अडियो संवाद एक साताअघि सार्वजनिक भएको थियो, उनले शनिबार राजीनामा दिए

चैत्र २०, २०८१

अर्जुन शाह

The forest minister of Far West was forced to resign when Sal Maasne went out of business

धनगढी — वन माफियासँग मिलेमतो गरेर आर्थिक चलखेलको योजना बुन्दै गरेको विवरण सार्वजनिक भएपछि गत शनिबार सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरी राजीनामा दिन बाध्य भए ।

कार्यविधि बनाएरै सालका रूख माँस्ने प्रपञ्च गर्दै उनले आर्थिक लेनदेनको सरसल्लाह गरिरहेको अडियो संवाद करिब एक साताअघि सार्वजनिक भएको थियो । उक्त संवादमा मन्त्री चौधरीले पूर्ववनमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य नारदमुनि राना र केही काठ व्यापारी (जसको नाम अझै खुलेको छैन) सँग छलफल गरी योजना बनाइरहेको खुलेको थियो ।

अडियो सार्वजनिक भएलगत्तै मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री रहेका चौधरीलाई राजीनामा दिन निर्देशन दिएका थिए । मन्त्री चौधरीले समेत उक्त संवाद स्वीकार गरिसकेका छन् । तर त्यो छलफल गत भदौको भएको उनको दाबी छ ।

मन्त्री चौधरीले आफू भर्खरै मन्त्री भएको समयमा केही व्यक्ति भेट्न आएका बेला भएको कुराकानी रहेको बताउँदै आफू पार्टीभित्रको आन्तरिक गुटबन्दीको सिकार हुन पुगेको दाबी गरे । उक्त गोप्य बैठक ‘कार्यविधि’ चाँडोभन्दा चाँडो तयार गर्ने/गराउने सन्दर्भमा छलफल केन्द्रित छ । तर दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि हो या निजी वनको सालका रूख कटानी सम्बन्धित कार्यविधि हो भन्ने अस्पष्ट छ ।

स्रोतका अनुसार मन्त्री, नेता र व्यापारीबीच भएको उक्त गोप्य योजना निजी वन क्षेत्रका सालका रूख काट्न तथा बिक्रीवितरण गर्न पाउने व्यवस्थासहितको कार्यविधि तयार गर्ने सन्दर्भको हो । उक्त संवादमा मन्त्री चौधरीलाई उत्प्रेरक एवं सहजकर्ताको भूमिकामा पूर्ववनमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य नारदमुनि राना संलग्न रहेको सुनिन्छ । एमाले कैलाली जिल्ला इन्चार्जसमेत रहेका नेता रानाले पनि त्यो छलफलमा आफू संलग्न रहेको स्वीकार गरिसकेका छन् ।

The forest minister of Far West was forced to resign when Sal Maasne went out of business 

रानाले मन्त्री चौधरीलाई ‘लुम्बिनीको कार्यविधि कपी गरेर लुम्बिनीको ठाउँमा सुदूरपश्चिम राखेर’ रातारात कार्यविधि तयार गर्न सुझाएका मात्रै छैनन्, मन्त्री चौधरीलाई उत्प्रेरित गर्दै भनेका थिए, ‘तपाईं र म फेरि चुनाव लड्नुपर्छ, जित्नका लागि पैसा कमाउनुपर्छ ।’

मन्त्री चौधरीले पनि मुख्यमन्त्री, रेशम चौधरी (नागरिक उन्मुक्ति पार्टीका संरक्षक), रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति अध्यक्ष) लाई पनि मिलाउनुपर्ने स्पष्ट भनेका छन् । त्यसबीचमा उनीहरूबीच ३० लाख लेनदेनको कुराकानी भइरहेको पनि सुनिन्छ ।

आरोपित एमाले नेता रानाले आर्थिक लेनदेनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । ‘मैले समसामयिक विषयमा कुरा गरेको हुँ, लेनदेनको कुनै कुरा भएको छैन,’ मंगलबार पत्रकार सम्मेलन गर्दै रानाले भने, ‘पूर्वमन्त्री भएको नाताले मन्त्रीले मलाई तपाईंसँग कुरा गर्नु छ, चेम्बरमा आउनुस् भन्नुभएको थियो । त्यस क्रममा उहाँलाई मैले के हो सहयोग गर्नुपर्ने भनेको हुँ । मेरो नाम जोडेर अतिरञ्जित गर्न खोजिएको छ ।’

 के हो कार्यविधि ?

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘दर्ता भएका निजी वनको साल प्रजातिको रूख सदुपयोग एवं अनुगमन कार्यविधि–२०८१’ तयार गरेको छ । स्रोतका अनुसार त्यही कार्यविधि बनाउने क्रममा नेता, व्यापारी र मन्त्रीबीच योजना बनेको छ ।

मन्त्रालयले उक्त कार्यविधि तयार गरेर गत मंसिर ६ मा राय सुझावका लागि आन्तरिक मामिला तथा कानुन र आर्थिक मामिला मन्त्रालयमा पठाएको थियो । आन्तरिक मामिला मन्त्रालयले मंसिर २५ मा कार्यविधिमाथि सहमति प्रदान गरेको थियो । 

आर्थिक मामिला मन्त्रालयले भने पुस १८ मा सहमति प्रदान गरेको थियो । दुवै मन्त्रालयको सहमति प्राप्त भएपछि पुस २६ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उद्योग मन्त्रालयका प्रवक्ता भोजराज पाठकले बताए । तर मुख्यमन्त्रीको कार्यालयले भने उक्त कार्यविधि पारित नगरी हालसम्म थन्क्याएर राखेको छ । ‘धेरैतिरबाट ताकेता आउन थालेपछि थन्क्याएर राखेका हौं,’ मुख्यमन्त्री शाहले भने ।

यसअघि सामुदायिक वनले ढलापढाबाहेक साल प्रजातिका रूख काट्न नपाउने व्यवस्था थियो । तर संघीय वन मन्त्रालयले २०८० मंसिर ७ मा राजपत्रमा सूचना जारी गर्दै निजी वन क्षेत्रमा भएका साल प्रजातिका रूख कटान तथा बिक्रीवितरण गर्न पाउने व्यवस्था जारी गर्‍यो ।

मन्त्रालयले वन ऐन २०७६ को दफा ७७ ले दिएको अधिकार प्रयोग गरी जैविक विविधता, प्रजाति संरक्षण र वातावरण संरक्षणको प्रयोजनका लागि भन्दै उक्त सूचना जारी गरेको थियो । त्यसमा ‘दर्ता भएको निजी वनमा लगाइएका वा हुर्काइएका साल प्रजातिका रूख कटान, उपभोग, ओसारपसार र बिक्रीवितरण गर्न पाइने उल्लेख छ । तर त्यसका लागि सम्बन्धित प्रदेश सरकारले आवश्यक अनुगमन गर्नुपर्ने भनिएको छ । त्यही अनुगमन गर्नुपर्ने भनिएको बुँदा कार्यान्वयनका लागि कार्यविधि बनाउन आर्थिक चलखेल भएको हो । 

सुदूरपश्चिम प्रदेश मन्त्रालयले प्रस्ताव गरेको कार्यविधिको व्यवस्थामा केही खुकुला प्रावधान राखिएका छन् । जसअन्तर्गत निजी वन क्षेत्रमा लगाएका सालका रूख काट्नुपरेमा सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने र स्थानीय तहले अटेर गरे प्रदेश मन्त्रालय मातहतको सम्बन्धित जिल्लामा रहेको डिभिजन वन कार्यालयका रेन्जर तहका प्रतिनिधिले अनुमति दिन सक्ने प्रावधान राखिएको छ । राष्ट्रिय, ऐलानी, पर्ती, जग्गासँग जोडिएको जग्गाको रूख कटान गर्नुपर्ने अवस्थामा पनि सोही प्रकारको व्यवस्था छ ।

‘अहिले दिगो वन व्यवस्थापन, ढलापढा, सुक्खा खडा व्यवस्थापन र निजी वन व्यवस्थापनका काठ व्यापारीहरूले पहिलादेखि नै निकै चलखेल गर्दै आएका हुन्,’ सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष कर्ण रावल भन्छन्, ‘अहिले त मन्त्री नै कसरी संलग्न भइरहेका थिए भन्ने छरपस्ट भयो । ढलापढा, सुक्खा खडा तथा दिगो वन व्यवस्थापनमा त झन् करोडौंको चलखेल सुनिन्छ ।’

सोही मन्त्रालयले निर्माण गरिरहेको दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधिमा पनि काठ व्यापारीहरूको चलखेल छ । मन्त्रालयले ‘वन संवर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यविधि–२०८१’ मस्यौदा तयार गरेर राय–परामर्शका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पेस गरेको थियो । तर नमिलेको भन्दै २०८१ चैत ११ गते फिर्ता पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद उपाध्यायले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully