काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुने घटनामा संसदीय समितिले पर्याप्त ध्यान नदिएको भन्दै आपत्ति जनाएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो व्यक्त गरे। उनका अनुसार, मुलुकमा कुनै गम्भीर घटना घट्दा संसदको पहिलो ध्यानाकर्षण हुनुपर्ने भए पनि तीनकुने घटना उपेक्षित भएको छ। उनले संसद नचलेका बेला राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयलाई गम्भीर रूपमा नलिएको प्रति असन्तुष्टि जनाए। समितिले गृहमन्त्रीलाई बोलाएर सरकारको बुझाइबारे जानकारी लिनुपर्ने उनको भनाइ थियो।
'राज्यसँग ४ हजारसम्मको भीड व्यवस्थापन गर्ने पनि क्षमता छैन?' उनले प्रश्न गरे।
उनले थपे, 'यदि मुलुकमा कुनै गम्भीर घटना हुन्छ भने, त्यो संसदको पहिलो ध्यानाकर्षणको विषय बन्नुपर्छ। अहिले संसद नचलेको बेला, संसदको 'मिनि संसद' अर्थात् राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो एजेण्डा नै चैत १५ गतेको घटना हुनुपर्ने थियो। एजेण्डा निर्माण प्रक्रियामा कहाँ कमी भयो? प्रक्रिया के हो? पहिले बनाइएको थियो भने पछि सुधार किन गरिएन?'
उनले समितिको बैठकमा गृहमन्त्रीलाई बोलाई राज्य प्रशासनको बुझाइ स्पष्ट गर्नुपर्ने माग गरे। उनले थपे, 'राज्यसँग ४ हजारसम्मको भीड नियन्त्रण गर्ने क्षमता छैन? कि बल प्रयोग नियतवश गरिएको थियो वा आकस्मिक रूपमा भयो?'
महामन्त्री शर्माले सरकारले आन्दोलनका क्रममा भएको बल प्रयोग नियतवश थियो वा आकस्मिक भन्नेबारे पनि स्पष्ट जवाफ दिनुपर्ने बताए।
