कार्यकर्ताप्रतिको झुकाव र आँटिलो स्वभावले गर्दा बोहरा सधैं हक्की देखिन्थे, फरक राजनीतिक दलका नेता/कार्यकर्तासित घुलमिल भएर आफूलाई ‘मियो’ का रूपमा स्थापित गर्ने खुबी बोहरामा रहेको उनका समकालीनहरू बताउँछन्
भैरहवा — राष्ट्रिय राजनीतिका चर्चित पात्र थिए- दीपक बोहरा। पञ्चायतकालमा तत्कालीन शासकका लागि अपरिहार्यजस्तै रहेका उनी मुलुकमा प्रजातन्त्र, लोकतन्त्र बहाल हुँदासमेत पटक-पटक लाभको पदमा पुगे । कार्यकर्ताप्रतिको झुकाव र आँटिलो स्वभावले गर्दा बोहरा सधैं हक्की देखिन्थे।
फरक राजनीतिक दलका नेता/कार्यकर्तासित घुलमिल भएर आफूलाई ‘मियो’ का रूपमा स्थापित गर्ने खुबी बोहरामा रहेको उनका समकालीनहरू बताउँछन् ।
संघीय सांसद बोहराको मंगलबार काठमाडौंस्थित ओम अस्पतालमा निधन भयो। २०७७ जेठमा कोरोना भाइरसबाट संक्रमित भएपछि ७४ वर्षीया बोहराको स्वास्थ्यमा समस्या देखिएको थियो । संक्रमणको केही समयपछि उनलाई पोस्ट–कोभिडको लक्षण देखिएको थियो ।
स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ गरिरहेका थिए ।
बोहरा पाल्पाको तानसेनमा जन्मिएका हुन । उनका बुबा प्रतिमानचन्द्र बोहरा तत्कालीन समयका बडाहाकिम थिए । बडाहाकिमका छोरा भएकाले बोहरामा पनि बुवाको प्रभाव र रवाफ देखिन्थ्यो । पाल्पामा विद्यालय शिक्षा हासिल गरेका बोहराको युवाकाल रूपन्देहीमा बित्यो । पञ्चायती राजनीति गर्ने क्रममा उनी २०३६ सालमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित थिए । त्यसपछि जिल्लामा उनको प्रत्यक्ष प्रभाव देखियो ।
जिल्लास्थित उनका समकालीन नेताको भनाइअनुसार रूपन्देहीको बुटवलमा दीपनगर बस्ती नै बोहराले बसालेका थिए । त्यसबाहेक बुटवल नगरपालिकाको पश्चिममा रहेका फर्साटिकर, सेमलार, देवदह, शीतलनगर, सालझन्डी, सैनामैनामा बस्ती बसाउन पनि बोहराको भूमिका रहेको उल्लेख गरिन्छ ।
सिद्धार्थनगर, लुम्बिनी, धकदहीलगायत सीमावर्ती क्षेत्रको विकासमा उनले योगदान पुर्याएको चर्चा हुने गरेको छ । ‘राजनीतिक प्रतिबद्धतामा उनको अपरिवर्तनशील अडान हुन्थ्यो,’ बोहराका समकालीन तथा रूपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लले भने, ‘बचन दिएपछि धोका नदिने, बरु सक्दिन भन्ने उनको स्वभाव थियो ।’
त्यही प्रस्टताका कारण उनी जिल्लामा सबै राजनीतिक दलमा घुलमिल र सहकार्य गर्न सक्ने नेताका रूपमा परिचित थिए । यसैको परिणामस्वरूप २०७४ को आमनिर्वाचनमा रूपन्देही–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्दा उनलाई कांग्रेसले समर्थन गरेको थियो । २०७९ मा रूपन्देही–३ बाट उनको उम्मेदवारीलाई एमाले र जसपाले समर्थन गरेका थिए ।
त्यसबेला उनले तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए । ‘बोहराको कमजोरी भनेकै आफ्ना कार्यकर्ता भनेपछि सही/गलत नहेरी आँखा चिम्लेर संरक्षण गर्ने प्रवृत्ति थियो,’ सांसद शुक्लले भने, ‘यस्तै प्रवृत्तिका कारण बोहरा र मेरो पारिवारिक सम्बन्ध राम्रो भए पनि हामीबीच मतभेद पनि भइरहन्थ्यो ।’
पछिल्लो निर्वाचनमा उनको घाँटीमा समस्या थियो । जसले गर्दा उनले कार्यकर्तासित हात र अँगालो मिलाए पनि आफ्नो भनाइ राख्न सकेका थिएनन् । उनका तर्फबाट पूर्वगृहराज्यमन्त्री नीरञ्जन थापाले भाषण गर्थे । विदेशमा पुगेरसमेत उपचार गराएका बोहरा त्यसपछि तंग्रिन सकेनन् । बेला–बेला कार्यकर्तामाझ देखिए पनि मतदातासित साक्षात्कार गर्ने उनको धोको अधुरै रहेको उनी निकट बताउँछन् ।
‘आफ्ना मात्र नभएर विपक्षी कार्यकर्तालाई समेत सहयोग गर्ने बोहराको आँटिलो स्वभाव थियो,’ कांग्रेस नेता दीपकुमार उपाध्याय भन्छन्, ‘सहयोगी र व्यक्तिगत प्रभाव पार्न सक्ने खुबी थियो । जसकै कारण बोल्न नसक्दा पनि २०७९ को निर्वाचनमा बहालवाला गृहमन्त्रीलाई पराजित गर्नु सामान्य कुरा थिएन ।’ उनको राष्ट्रभक्तिलाई लिएर पनि स्मरण गर्न सकिने उपाध्याय बताउँछन् । ‘रूपन्देहीमा जुनसुकै निर्वाचन क्षेत्र रोजे पनि उनको व्यक्तिगत प्रभाव देखिन्थ्यो,’ उनले भने, ‘सुकुम्बासी बस्तीसँगै जिल्लाको विकासमा उनको भूमिका देखिन्छ ।’
बुवालाई निको नभएपछि बोहराका छोराद्वय प्रज्वल र गौरव जिल्लाका विभिन्न गतिविधिमा सहभागी हुँदै कार्यकर्तासित साक्षात्कारमा व्यस्त देखिन्थे । दुवै छोराले निर्वाचन क्षेत्रमा आफ्ना बुवाको अनुपस्थित टार्ने गरी घरदैलो र भेटघाट तीव्र बनाएका थिए । सहपाठी साहित्यकार विजयगोविन्द श्रेष्ठ (विजयसागर) का अनुसार बोहरा जिल्लामा विकासप्रेमी र हिम्मतिला नेताको छाप छाड्न सफल भए ।
‘बुटवलको दीपनगर बस्तीको नामकरण बोहराको नामबाट भएको हो,’ श्रेष्ठले भने, ‘सुकुम्बासीलाई ल्याएर देवदहमा पनि बस्ती विकास गरेको श्रेय उनैलाई जान्छ ।’ श्रेष्ठका अनुसार रूपन्देहीको विकासको जग मानिने भैरहवा–लुम्बिनी भूमिगत जल परियोजना, भैरहवादेखि नवलपरासीको त्रिवेणीसम्म हुलाकी सडक निर्माणमा बोहराको मुख्य भूमिका रहेको थियो । जिल्लामा शैक्षिक संस्थाको स्थापनामा बोहराको योगदान रहेको श्रेष्ठले बताए ।
बोहराले वन तथा वातावरण, स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा आफ्ना पिता र माताको नाममा प्रतिमान–निमा स्मृति प्रतिष्ठान खडा गरेका छन् । रूपन्देहीमा रहेको प्रतिष्ठानले पछिल्लो समय जलवायु परिवर्तन न्यूनीकरणको काम गरिरहेको छ ।
बोहराकी श्रीमती प्राज्ञ तथा गीतकार उन्नति बोहरा ‘शिला’ हुन् । उनका छोरा गौरव विमान चालक हुन् भने प्रज्वल सामाजिक क्रियाकलापमा संलग्न छन् । उनकी छोरी चाँदनीको एक महिनाअघि निधन भएको थियो । रूपन्देहीको सिद्धार्थनगर–३ खजहानामा बसोबास गर्दै आएका बोहराले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकसम्म अध्ययन गरेका थिए ।
नेपालको राजनीतिमा चार दशकदेखि क्रियाशील बोहरा २०३६ र २०४२ को आमनिर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका थिए । २०७० मा दोस्रो संविधानसभाको निर्वाचनमा रूपन्देही–२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
लामो राजनीतिक यात्रामा बोहरा पटकपटक लाभको पदमा पुगेका थिए । पारिवारिक स्रोतका अनुसार २०७३ मा आपूर्तिमन्त्री, २०७४ मा स्वास्थ्यमन्त्री, २०७२ मा श्रम तथा रोजगारमन्त्री, २०६७ मा वन तथा भूसंरक्षणमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०३८ मा सहायक पर्यटनमन्त्री बनेका थिए ।
मन्त्रीबाहेक २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष, २०५७ मा बैंक अफ काठमान्डुको अध्यक्ष बनेका थिए । उनी डा.हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानको मानार्थ संरक्षक र ग्लोबल टाइगर इनिसिएटिभको सदस्य थिए ।
